१८ असार काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन् ।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूसँग शीतल निवासमा बुधबार भएको भेटघाटमा बोल्दै भने, ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ ।’
प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनले बताए ।
‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरूरी छ,’ उनले भने, ‘प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्त्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरूरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ ।’
प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औल्याए ।