२०८२ श्रावण ५, आईतबार

महिला टोलीका मुख्यप्रशिक्षक वाइल्डले दिए राजीनामा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक प्याट्रिक डी वाइल्डले पदबाट राजीनामा दिएका छन् ।
महिला टोलीका मुख्यप्रशिक्षक वाइल्डले दिए राजीनामा

४ साउन काठमाडौं / नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक प्याट्रिक डी वाइल्डले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वाइल्डले गत शनिबार इमेलमार्फत राजीनामा दिएको पुष्टि गरेको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, वाइल्डले शनिबार एन्फालाई राजीनामाको इमेल पठाएका हुन् । “उहाँले राजीनामा पठाइसक्नुभएको छ । इमेलमार्फत पठाउनुभएको रहेछ,” प्रवक्ता शाहले बताए ।

वाइल्डको नेतृत्वमा नेपाली महिला टोलीले तीन खेल खेल्यो । जसमध्ये नेपालले दुईमा जित र एकमा हार बेहोरेको थियो । नेपाली महिला टोलीले वाइल्डलाई पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षकका रूपमा पाएको थियो । तर, उनले उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटपछि एन्फाविरुद्ध असन्तुष्टि जनाएका थिए । उनले एन्फा नसुध्रिएसम्म आफू नेपाल नफर्किने बताएका थिए ।

एन्फाले वाइल्डलाई गत जेठ २२ गते एक वर्षका लागि मुख्यप्रशिक्षण नियुक्त गरेको थियो । उनी टोलीको कप्तान परिवर्तन विवादमा पनि तानिएका थिए । छनोट खेल सकेर फर्किएपछि टोलीकी ‘हेड अफ डेलिगेसन’ तथा एन्फा कार्यसमिति सदस्य शरिला श्रेष्ठ र टिम व्यवस्थापक बिन्दा देवानसहितको अफिसियल टोलीले पत्रकार सम्मेलनमार्फत कप्तान परिवर्तन विवादको दोष वाइल्डमाथि थोपरेका थिए । पत्रकार सम्मेलनमा टेक्निकल डाइरेक्टर हरि खड्कासहित उज्बेकिस्तान गएका सबै अफिसियल उपस्थित थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस