९ साउन काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जाँदैहुनुहुन्छ । विहान १०.३० बजे काठमाडौंबाट महोत्तरीको मटिहानी नगरपालिकातफ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्रीले सो नगरपालिकाको विग्ही नदीमा बनेको पुल ११.३० मा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सो कार्यक्रममा अतिथीको रुपमा सहभागी हुनुहुने प्रधानमन्त्री कार्यलयले जनाएको छ ।
सोही नगरपालिकामा निर्माण भएको प्रसुती गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आजै दिउसो १.४० बजे जनकपुर कुर्था सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ । दिउसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्ध्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दिउसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेसका किसानसँग भेटघाट गरेर उनीहरुका समस्या सुन्ने कार्यक्रम रहेको छ । ‘साउनको पहिलो सातासम्म पनि धान रोपाँइ हुन सकेको छैन । त्यहाँका वस्तुस्थिती हेरौं र स्थानीय किसानका कुरा सुनौं भन्ने लागेको छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आज महोत्तरी र बाराका दिदीबहिनी दाजुभाइहरुसँग भेट हुने छ ।’