११ भदौ काठमाडौं / माइतीघरमा आज पनि उखु किसानको धर्ना जारी छ । अघिल्लो वर्षको अनुदान भुक्तानी माग गर्दै किसानहरूले चौथो दिन पनि धर्ना जारी राखेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अनुदान भुक्तानी प्रतिक्वीन्टल ७० रूपैयाँका दरले गर्नुपर्ने उनीहरूको माग छ ।
उखु उत्पादक महासंघको नेतृत्वमा भएको आन्दोलनमा १३ जिल्लाका उखु किसानहरू चार दिनदेखि माइतीघरमा धर्नामा छन् । किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै बुधबार विभिन्न दलका नेताहरू बुधबार माइतीघर पुगेका छन् ।
सरकारमै रहेको नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित मधेसवादी दलका नेताहरू बुधबार माइतीघर पुगेका थिए ।
नेपाली कांग्रेसका नेता एनपि साउद, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, बिना मगर लगायतका नेताहरूले उखु किसानका आन्दोलनमा ऐक्यबद्धता देखाएका हुन् ।