
३ मंसिर बारा / नेकपा एमाले महासचिव शंकर पोखरेल बारामा जाने भएपछि सिमरामा प्रदर्शन भएको छ । पोखरेलको स्वागतका लागि विमानस्थलमा आएका एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि बारा जिल्ला प्रशासनले दिउँसो १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु लगाएको छ । प्रदर्शनका कारण विमानस्थ बन्द गरिएकाले पोखरेल भने काठमाडौँ विमानस्थलमै रोकिएका छन् ।
उनका स्वकीय सचिव सरोज रेग्मीले विमानस्थल बन्द भएकाले विमानस्थल खुल्ने प्रतिक्षामा काठमाडौँमै रहेको बताए । पोखरेलको साथमा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत लगायत पनि छन् । रेग्मीका अनुसार उनीहरु युवाहरूको कार्यक्रममा बारा जाँदै थिए ।
जेनजी युवाहरुको प्रदर्शन र राजनीतिक दल–सम्बद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षाको जोखिम उच्च बनेको भन्दै तत्काल लागू हुने गरी कर्फ्यू लगाएको जिल्ला प्रशासन बाराले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् ।