
एजेन्सी—मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो।
लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको भनेर समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति नभएको पनि बताइएको छ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी आएको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्।
इसराइली सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यसबारेमा हामीले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेलाई सोधेका छौं। बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भौतिक क्षतिबाहेक मानवीय क्षति नभएको बताएका छन्।