२०८३ अषाढ ५, शुक्रबार

कृृर्षि कर्म

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण : धुनिवेशीका किसानमा खुसी र उत्साह

ट्याक्टर पाए पछि
५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण : धुनिवेशीका किसानमा खुसी र उत्साह

धादिङ, असार ५ /धुनिवेशी नगरपालिकाको प्राङ्गण बिहीबार दिनभर भरिभराउ देखिन्थ्यो। हेर्दा कुनै मेला वा महोत्सव लागेको जस्तो लाग्थ्यो। तर त्यहाँ कुनै मेला लागेको थिएन, नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्न सजाएर राखेका हाते ट्याक्टर र ती बुझ्न आएका किसानहरूको भीडले प्राङ्गण भरिएको थियो।

ट्याक्टर प्राप्त गरेपछि किसानहरूको अनुहारमा मुस्कान, आँखामा आशा र भविष्यप्रतिको नयाँ उत्साह झल्किएको देखिन्थ्यो। त्यही उत्साह बोकेर आएका किसानमध्ये कमल प्रसाद रुपाखेती पनि एक हुन्। व्यवसायिक रूपमा १५ देखि १८ रोपनी क्षेत्रफलमा खेती गर्दै आएका युवा किसान रुपाखेतीले आधुनिक कृषि प्रणाली अपनाउनु समयको आवश्यकता भएको बताए।

drishtinepal

आज धेरै युवाहरू वैदेशिक रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका बेला आफू भने आफ्नै माटोमा पसिना बगाउँदै सम्भावना खोजिरहेको उनले बताए। धुनिवेशी नगरपालिकाबाट प्राप्त ट्याक्टरले खेतीपातीलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रम सबै किसानसम्म पुग्नुपर्ने धारणा राखे। साथै मल, बीउबिजन तथा अन्य कृषि सामग्रीको व्यवस्थापनमा समेत स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

कमल प्रसाद मात्र होइनन्, लामो समयदेखि भाडामा ट्याक्टर प्रयोग गर्दै र ज्यालादारी श्रमिक लगाएर खेती गर्दै आएकी राममाया बस्नेत पनि अनुदानमा ट्याक्टर प्राप्त गरेपछि निकै खुसी देखिनुभयो। आफ्नै ट्याक्टर भएपछि खेतीपाती गर्न सहज हुने र उत्पादन लागत घट्ने उनको विश्वास छ।

कार्यक्रमलाई सम्बोधन गर्दै धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले वास्तविक किसानहरूलाई ट्याक्टर वितरण गर्न पाउँदा आफू खुसी भएको बताए। उनले कृषि यन्त्रीकरणले खेतीलाई सहज बनाउने भए पनि उपकरण चलाउने सीप नहुँदा दुर्घटनाको जोखिम रहने भएकाले सचेत भएर प्रयोग गर्न आग्रह गरे। आवश्यक परे नगरपालिकाले मर्मत–सम्भार तथा सञ्चालन सम्बन्धी तालिमको समेत व्यवस्था गर्ने उनको भनाइ थियो।

drishtinepal

नगर उपप्रमुख सुरज उप्रेतीले ट्याक्टर वितरणमा केही ढिलाइ भएकोप्रति क्षमायाचना गर्दै धुनिवेशी नगरपालिकामा करिब ६२ प्रतिशत जनसंख्या कृषि पेशामा आबद्ध रहेको बताए। अनुदानमा प्राप्त ट्याक्टरले आयआर्जन वृद्धि गर्नुका साथै स्वरोजगार सिर्जना गर्न मद्दत पुग्ने उनको भनाइ थियो। परम्परागत कृषि प्रणालीभन्दा आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले यान्त्रिक उपकरणको प्रयोगले किसानको श्रम र समय दुवै बचत हुने बताए।

धुनिवेशी नगरपालिकाले यस कार्यक्रमअन्तर्गत ९२ जना किसानलाई सहुलियत दरमा हाते ट्याक्टर वितरण गरेको छ। किसानहरूले प्रतिट्याक्टर १६ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी गरे पनि करिब ३३ हजार रुपैयाँ मूल्य बराबरको ट्याक्टर प्राप्त गरेका छन्।

drishtinepal

कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्यले अनुदानका कार्यक्रमहरूमा दोहोरो सुविधा लिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। पहुँचका आधारमा एउटै व्यक्तिले पटक–पटक अनुदान लिँदा वास्तविक किसानहरू अवसरबाट वञ्चित हुने भएकाले त्यस्तो कार्य नगर्न उनले आग्रह गरे।

नगरपालिकाले वितरण गरेका हाते ट्याक्टरमा एक वर्षको वारेन्टी समेत रहेको जानकारी दिँदै नगर प्रमुख आचार्यले विगतमा देखिएका प्राविधिक समस्याहरू यसपटक नदोहोरिनेमा आफू विश्वस्त रहेको बताए। कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण र किसानको जीवनस्तर उकास्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

https://youtu.be/YPoB54z85OM?si=zvi9AtrCznPqLhd8
यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस