
१५ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन् । कारागारको पर्खाल भत्काएर सुरुङ खनी कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
चौबिसै घण्टा सुरक्षा निगरानीमा रहने कारागारबाट कैदीबन्दीले सुरुङ खनेर भाग्दासमेत सुरक्षाकर्मीले तत्काल जानकारी नपाउनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य रहेका छन् । समितिले घटनाको अध्ययन गरी प्रतिवेदन बुझाएपछि कैदीबन्दी कसरी फरार भए भन्ने विषय स्पष्ट हुने डीएसपी गिरीले बताए ।
उनका अनुसार घटना कात्तिक १३ गते राति भएको हो । आफूलाई कात्तिक १४ गते बिहान मात्रै घटनाबारे जानकारी आएको उनले बताए ।
उक्त कारागारमा १७ जना कैदीबन्दी रहेका थिए । तीमध्ये ८ जना सुरुङ खनेर फरार भएका हुन् ।
‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीएसपी गिरीले भने ।
फरार हुनेमा को–को छन् ?
प्रहरीका अनुसार फरार हुनेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा र बोरेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक रहेका छन् ।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, आठबिसकोट–१० का ३२ वर्षीय रामबहादुर कामी, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय निशान भनिने अदेश भण्डारी पनि फरार भएका छन् ।
प्रहरीका अनुसार फरार भएका आठै जना अझै पक्राउ परेका छैनन् । उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी गिरीले बताए ।
प्रहरीले राति १० बजेसम्म कैदीबन्दी सामान्य अवस्थामै रहेको देखिएको जनाएको छ । त्यसपछि उनीहरूले सुरुङ खन्न सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुङ खन्न रड प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
कारागारको सुरक्षा व्यवस्था, सुरुङ खन्न प्रयोग गरिएका सामग्री र सुरक्षाकर्मीको निगरानीमा भएको कमजोरीबारे छानबिन समितिले अध्ययन गरिरहेको छ ।