२०८३ कार्तिक १७, सोमबार

युरोपमा जेनजी आन्दोलन

शिक्षा, रोजगारी र आवास संकटविरुद्ध युरोपभरि सडकमा उत्रिए जेनजी युवा

शिक्षा, रोजगारी र आवास संकटविरुद्ध युरोपभरि सडकमा जेनजी युवा
शिक्षा, रोजगारी र आवास संकटविरुद्ध युरोपभरि सडकमा उत्रिए जेनजी युवा

१६ कात्तिक, काठमाडौं । शिक्षा क्षेत्रमा बजेट कटौती, बेरोजगारी, आवासको बढ्दो मूल्य र भ्रष्टाचारविरुद्ध युरोपका विभिन्न देशमा नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू सडकमा उत्रिएका छन् ।

युरोपका विभिन्न सहरमा फैलिएको युवा आन्दोलनले सरकारहरूमाथि दबाब बढाएको छ । फरक–फरक मुद्दाबाट सुरु भएका प्रदर्शनले नयाँ पुस्तामा बढ्दै गएको असन्तुष्टि र पुस्तान्तरणको खाडललाई समेत उजागर गरेको छ ।

स्पेन, फ्रान्स, इटाली, ग्रिस, पोर्चुगल, अल्बानिया, सर्बिया र जर्मनीलगायतका देशमा युवाहरूले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । कतै शिक्षा र रोजगारीको माग उठाइएको छ भने कतै आवास संकट, भ्रष्टाचार र आर्थिक असमानताविरुद्ध आवाज बुलन्द गरिएको छ ।

आफ्ना अभिभावकको पुस्ताले पाएका अवसर आफूहरूले नपाउने चिन्ताले युवाहरूलाई आन्दोलनमा धकेलेको विश्लेषण गरिएको छ । शिक्षा, विश्वविद्यालयमा लगानी, जीवनयापनको बढ्दो लागत र किफायती आवास युरोपभरिका युवा आन्दोलनका साझा मुद्दा बनेका छन् ।

फ्रान्सको प्रमुख विद्यार्थी युनियन ‘युनेफ’ की उपाध्यक्ष एलिस डि ब्रिटोका अनुसार युरोपका विद्यार्थी संगठनहरू एकअर्कासँग अनुभव साटासाट गरिरहेका छन् । शिक्षा, विश्वविद्यालयमा लगानी, जीवनयापनको लागत र आवासको समस्याले विभिन्न देशका युवालाई एकै ठाउँमा जोडेको उनको भनाइ छ ।

शिक्षामा लगानी र रोजगारीको माग

फ्रान्समा पछिल्ला नौ वर्षदेखि सेप्टेम्बर र अक्टोबरमा विद्यार्थी प्रदर्शन हुँदै आएका छन् । यस वर्ष भने आन्दोलन थप चर्किएको छ ।

विद्यार्थीहरूले कक्षाकोठामा विद्यार्थी सङ्ख्या घटाउनुपर्ने, शिक्षकका लागि बजेट बढाउनुपर्ने, जलवायु संकटसँग जुध्ने पूर्वाधारमा लगानी गर्नुपर्ने र युवामाथि हुने प्रहरी हिंसा अन्त्य गर्नुपर्ने माग राखेका छन् ।

ग्रिसको एथेन्सस्थित संसद् भवनबाहिर हजारौँ विद्यार्थी र शिक्षकले सार्वजनिक तथा निःशुल्क शिक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । इटालीको रोममा समेत विद्यार्थीहरूले फ्रान्सको आन्दोलनलाई समर्थन गर्दै शैक्षिक संस्थामा लगानी बढाउन माग गरेका छन् ।

इटालीकी विद्यार्थी युनियनकी नेता सब्रिना ब्रिजोलाले सुरक्षित विद्यालय, सम्मानजनक रोजगारी, सार्वजनिक स्वास्थ्य सेवा र सामाजिक न्यायका लागि एकजुट हुन आह्वान गरेकी छन् ।

आवास संकटले जोड्यो सीमापारिका युवा

युरोपभरि युवाहरूलाई सडकमा उतार्ने अर्को प्रमुख मुद्दा आवास संकट बनेको छ । घरभाडा र घरजग्गाको मूल्य बढ्दै जाँदा युवाहरूलाई आवास व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

स्पेनमा सेप्टेम्बरमा चर्किएको आवाससम्बन्धी आन्दोलनले सरकारमाथि राजनीतिक दबाब बढाएको छ । उक्त आन्दोलनको प्रभाव पोर्चुगलसम्म फैलिएको छ ।

पोर्चुगलको राजधानी लिस्बनस्थित रोसियो स्क्वायरमा हजारौँ मानिस भेला भएर घरभाडा वृद्धिमा सीमा तोक्नुपर्ने र बहालवालालाई घरबाट हटाउन सहज बनाउने कानुन खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।

इटालीमा पनि विद्यार्थीहरूले किफायती आवासलाई गुणस्तरीय शिक्षाबाट अलग राख्न नमिल्ने बताएका छन् । आवासको समस्या विद्यार्थीमा मात्रै सीमित नरही अन्य क्षेत्रका नागरिकको समेत साझा मुद्दा बनेको छ ।

भ्रष्टाचारविरुद्ध पनि आन्दोलन

अल्बानिया र सर्बियामा भने भ्रष्टाचारविरोधी अभियान आन्दोलनको प्रमुख मुद्दा बनेको छ ।

अल्बानियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग जोडिएको विलासी विकास परियोजनाको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री एदी रामाले राजीनामाको माग अस्वीकार गरेका छन् ।

सर्बियामा दुई वर्षदेखि विद्यार्थीको नेतृत्वमा आन्दोलन जारी छ । उक्त आन्दोलनले देशको राजनीतिक नेतृत्वमाथि दबाब सिर्जना गरेको छ ।

युरोपका विभिन्न देशमा भइरहेको प्रदर्शनले सरकारहरूलाई नयाँ पुस्ताका अपेक्षा र समस्याप्रति गम्भीर बन्न दबाब दिएको छ ।

जर्मनीमा पनि फैलियो जेनजी आन्दोलन

युरोपका विभिन्न देशमा फैलिएको जेनजी आन्दोलनको प्रभाव जर्मनीमा समेत देखिएको छ । ‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मा लिन्छ’ नामक अभियान समूहको आह्वानमा जर्मनीका ३४ भन्दा बढी सहरमा हजारौँ युवा तथा विद्यार्थी सडकमा उत्रिएका थिए ।

शनिबार दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन रात परेसँगै केही सहरमा हिंसात्मक बनेको थियो । वित्तीय केन्द्र फ्र्यांकफर्टमा प्रदर्शनकारीहरूले विभिन्न पसलमा तोडफोड र लुटपाट गरेका थिए । राजधानी बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । सम्भावित तोडफोड र लुटपाट रोक्न केही पसलले आफ्ना सिसा तथा झ्यालमा काठका फल्याकसमेत राखेका थिए ।

तर, प्रहरी अधिकारी र प्रहरी संगठनहरूले हिंसात्मक घटनामा मूल जेनजी प्रदर्शनकारीभन्दा मास्क लगाएका बाहिरी वामपन्थी अतिवादी समूहको संलग्नता रहेको बताएका छन् ।

आयोजक समूह ‘जेनजी रेगेल्ट’ ले पनि हिंसाको निन्दा गर्दै फ्रान्स र बेल्जियममा देखिएको विनाशकारी प्रदर्शन आफ्नो आन्दोलनको उद्देश्य नभएको स्पष्ट पारेको छ ।

समूहकी प्रवक्ता लिना फ्रिड्रिखले आन्दोलनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् ।

उनका अनुसार युवाहरू स्वास्थ्य र शिक्षा प्रणालीमा थप लगानी, अनिवार्य सैन्य सेवाको अन्त्य तथा आर्थिक भारको न्यायोचित वितरणको पक्षमा छन् ।

आर्थिक संकटले थप बढायो युवा असन्तुष्टि

युरोपका विभिन्न देशमा देखिएको युवा आन्दोलनलाई आर्थिक संकटले समेत प्रभावित पारेको विश्लेषण गरिएको छ । ग्रिस, इटाली, फ्रान्स, बेल्जियम, स्पेन र पोर्चुगलजस्ता युरोपेली संघका देशहरू आर्थिक सुस्तता र उच्च राष्ट्रिय ऋणको दबाबमा छन् ।

‘द युरोपियन करेस्पोन्डेन्ट’का प्रधान सम्पादक जुलियस फिन्टेलम्यानका अनुसार यी प्रदर्शनले युरोपेली राजनीतिले नयाँ पुस्ताका अपेक्षाअनुसार परिणाम दिन नसकेको जनभावना प्रतिबिम्बित गर्छन् ।

शिक्षा र आवासको समस्यासँगै अनिश्चित रोजगारी बजारले पनि युवाहरूको असन्तोष बढाएको उनको विश्लेषण छ । कृत्रिम बौद्धिकता (एआई) को विस्तारले प्रवेश तहका रोजगारी प्रभावित भइरहेका छन् भने जलवायु संकटले नयाँ पुस्ताको चिन्ता थपेको छ ।

युरोपका विभिन्न देशमा फरक–फरक मुद्दाबाट सुरु भएका यी प्रदर्शनले शिक्षा, आवास, रोजगारी, सार्वजनिक सेवा र आर्थिक न्यायका विषयमा नयाँ पुस्ताको साझा असन्तुष्टि उजागर गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस