
१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध प्रतिरोध गर्न विपक्षी दलहरूको साझा मोर्चा बनाउने पहल गर्ने भएको छ ।
विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढेको भन्दै त्यसविरुद्ध साझा रणनीति बनाउन कांग्रेसले विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउन लागेको हो ।
सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपक्षी दलहरूको साझा मोर्चा निर्माणका लागि पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङदेम्बेले सरकारका पछिल्ला कदमविरुद्ध साझा रणनीति तय गर्न कांग्रेसले आजै दिउँसो १ बजे अन्य विपक्षी दलहरूको बैठक आह्वान गरेको बताए ।
उनका अनुसार बैठकमा सरकारका गतिविधि, विधिको शासन, प्रेस स्वतन्त्रता र संवैधानिक संस्थाहरूको स्वायत्तताका विषयमा छलफल हुनेछ ।
पछिल्लो समय चर्चामा रहेको अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग जोडिएको विषयमा समेत विपक्षी दलहरूसँग छलफल गरी संयुक्त कदम चालिने आङदेम्बेले जानकारी गराए ।
सरकारका गतिविधिविरुद्ध विपक्षी दलहरूबीच साझा धारणा र रणनीति निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।