
१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
आजको खेलमा अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर काठमान्डु गोर्खाजको पहिलो रोजाइमा खेल्दैछन् । उनी साम हिजलेटको स्थानमा टोलीमा समावेश भएका हुन् ।
काठमान्डुले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहले पहिलो रोजाइमा अवसर पाएका छन् ।
यस्तै, कर्णाली याक्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा जिशान अलामलाई पहिलो रोजाइमा समावेश गरिएको छ ।
कर्णालीले यसअघि खेलेका दुवै खेल जित्दै ४ अंक जोडिसकेको छ । आजको खेल जित्दै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा कर्णाली रहेको छ ।
यता, काठमान्डु गोर्खाज भने पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो । आज कर्णालीलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यसहित काठमान्डु मैदानमा उत्रिएको छ ।