
१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।
निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने भएको हो ।
हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगलाई गाभ्ने नीतिलाई प्रोत्साहन गर्दै निगमले गत १२ कात्तिकमा सबै ग्यास उद्योगलाई पत्राचार गरेको छ ।
निगमले उद्योगहरूलाई एकआपसमा गाभ्ने सम्बन्धमा आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ ।
निगमका अनुसार उद्योग गाभ्ने नीतिले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।