
१६ कात्तिक, काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको नियमित बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भए नभएको विषयमा समेत अनुगमन गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक निगरानी गर्ने विषयमा पनि छलफल भएको एक सचिवले जानकारी दिए ।
मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो । सामान्यतया महिनाको पहिलो सोमबार बस्ने बैठक दसैँ बिदाका कारण यसपटक सोमबार बसेको हो ।
बैठकमा बजार अनुगमन, कालोबजारी नियन्त्रण, सरकारी सेवा प्रवाहलगायत समसामयिक विषयमा छलफल भएको एक सचिवले बताए ।