२०८३ कार्तिक १८, मंगलबार

दुवै हेलिकोप्टरका पाइलट घाइते, एक विदेशी नागरिकको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, दुवै पाइलटसहित तीन घाइते

फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, तीन घाइते
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, दुवै पाइलटसहित तीन घाइते

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको नाइन एन–एओडी हेलिकोप्टर लुक्लाबाट उडेको थियो भने फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकोप्टर गोरक्षेपबाट फेरिचे पुगेको थियो ।

नेपाली समयअनुसार बिहान ८ बजेर ११ मिनेटमा दुवै हेलिकोप्टर एकआपसमा ठोक्किएका थिए । दुवै हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्यस्थित चेन्नईका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ ।

दुर्घटनामा दुवै हेलिकोप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।

घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

त्यस्तै, डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस