२०८३ कार्तिक १८, मंगलबार

भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी, एजेण्डाबारे भने अझै गृहकार्य सुरु नभएको स्रोतको दाबी

मंसिर ६ देखि ८ गतेसम्म प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी

मंसिर ६ देखि ८ गतेसम्म प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी
मंसिर ६ देखि ८ गतेसम्म प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भएको छ । मंसिर ६ देखि ८ गतेसम्मका लागि भ्रमणको तयारी भइरहेको भए पनि सरकारले औपचारिक रूपमा मिति घोषणा गरिसकेको छैन ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएको जनाएको छ । केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी गराएको थियो । तर भ्रमणका क्रममा छलफल हुने एजेण्डाबारे भने गृहकार्य सुरु भइनसकेको स्रोतको दाबी छ ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहे पनि छलफलका विषय र एजेण्डा अझै तय भएका छैनन् । विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणअघि एजेण्डाबारे दर्जनौँ पटक बैठक तथा छलफल हुने गरे पनि अहिले त्यस्तो तयारी नभएको ती अधिकारीले बताए ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीबारे बुझ्न भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार नेपाल आउँदै छन् । उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रधानमन्त्रीको भ्रमणका एजेण्डाबारे छलफल गर्ने कार्यक्रम छ । दुई सचिवबीचको छलफलपछि भ्रमणको एजेण्डाले दिशा लिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।

भ्रमणका क्रममा केही परियोजनाको उद्घाटन तथा औपचारिक घोषणा गर्ने विषयमा पनि छलफल भइरहेको छ । अयोध्यादेखि जनकपुरसम्म रेल सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर रेल सञ्चालनका लागि रेल विभाग तथा सम्बन्धित मन्त्रालयले गरेको तयारीबारे स्पष्ट जानकारी आइनसकेको बताइएको छ ।

त्यस्तै, भारतीय सहयोगमा पनौतीमा निर्माण सम्पन्न भएको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, भैरहवास्थित एकीकृत जाँच चौकी तथा दार्चुला र महाकाली नदीमा निर्माण भएका पुल संयुक्त रूपमा उद्घाटन गर्ने विषयमा पनि चर्चा भइरहेको छ । यद्यपि यी परियोजनाको उद्घाटनका लागि आवश्यक तयारी पूरा भइनसकेको स्रोतको भनाइ छ ।

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण, लोअर अरुण जलविद्युत् परियोजना तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा पनि दुई पक्षबीच छलफल हुने बताइएको छ ।

भारतका लागि पूर्वनेपाली राजदूतले नेपालमा यस्ता भ्रमणको तयारी अन्तिम समयमा गर्ने प्रवृत्ति रहेको बताएका छन् । पर्याप्त तयारी नगर्दा भ्रमणका क्रममा भएका सहमति तथा निर्णय कार्यान्वयनमा समस्या आउने गरेको उनको भनाइ छ ।

कूटनीतिक मामिलाका जानकारहरूले प्रधानमन्त्रीको भ्रमणअघि छलफलका विषय र द्विपक्षीय समझदारीबारे गहन गृहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार नेपालले भारतसँग के माग्ने र आफूले के प्रस्ताव गर्ने भन्ने विषय स्पष्ट पारेर मात्र भ्रमणमा जानुपर्छ ।

राजनीतिक विश्लेषक एवं लेखक हरि रोकाले भारतले जे दिन्छ, त्यही लिने मानसिकताका कारण नेपालको तर्फबाट पर्याप्त तयारी हुन नसकेको टिप्पणी गरेका छन् । यातायात, विद्युत्, पानी, कृषि, तेल, ग्यास तथा मललगायतका विषयमा सरकारले स्पष्ट धारणा बनाएर भारतसँग छलफल गर्नुपर्ने उनको सुझाव छ ।

पूर्वराजदूत निलाम्बर आचार्यले स्थिर सरकार भएका कारण अहिलेको सरकारले सोहीअनुसार तयारी गरेर भारत भ्रमणमा जानुपर्ने बताएका छन् । विगतका सरकारले पनि तयारी गरेरै भ्रमण गर्ने गरेको उल्लेख गर्दै उनले यसपटक भारतसँग ठोस विषय राख्नुपर्ने र नेपाल–भारतबीचका विद्यमान समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेनसँग पनि भेटवार्ता गर्ने तयारी छ । यद्यपि भेटको समयतालिका निश्चित भइसकेको छैन । यसअघि वैशाखमा नेपाल आउन चाहेका मिस्रीको भ्रमण प्रधानमन्त्री बालेनसँग भेट तय हुन नसकेपछि स्थगित भएको थियो । यसपटक भने भेट हुने सम्भावना लगभग निश्चित रहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसैबीच, नेपालका लागि नियुक्त भएका भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार नेपाल आउँदै छन् । उनले आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन् । बुधबारदेखि हुने सचिवस्तरीय छलफलमा उनी पनि सहभागी हुने स्रोतको दाबी छ ।

त्यस्तै, भारतका लागि सिफारिस भएका नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलाई पनि प्रधानमन्त्रीको भ्रमणको मिति घोषणा हुनुअघि नै नयाँदिल्ली पठाउने तयारी भइरहेको छ । भारतले एग्रिमोसम्बन्धी प्रक्रिया पूरा गरेपछि पाण्डे भारत जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस