
१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको हो । यसबाट मुलुकले २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
नेपालबाट निर्यात हुने जुसको सबैभन्दा ठूलो बजार छिमेकी भारत हो । यसबाहेक केही परिमाणमा नेपाली जुस चीन र जापानमा समेत निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै विभिन्न फलफूलको मिश्रणबाट तयार गरिएको ‘मिक्स जुस’ निर्यात भएको छ । तीन महिनामा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको हो ।
यसमा भारतको हिस्सा सबैभन्दा ठूलो छ । भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर मिक्स जुस निर्यात भएको छ । त्यस्तै, जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ बराबरको १० हजार २०० लिटर मिक्स जुस पुगेको छ ।
मिक्स जुसपछि नेपालबाट धेरै निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस छन् । पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ ।
त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस विदेश पठाइएको छ । सुन्तला र भुइँकटहर दुवै प्रकारका जुस शतप्रतिशत भारतमा मात्रै निर्यात भएका छन् ।
यस अवधिमा नेपालबाट स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि उल्लेख्य मात्रामा भारत निर्यात भएको छ । विभागका अनुसार तीन महिनामा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ मूल्यको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको छ ।
त्यसैगरी, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि भारत निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।