२०८३ कार्तिक २०, बिहिबार

कोरला नाकामा हिउँको अवरोध, १ हजार ७ सय गाडी रोकिए

हिउँले छेक्यो कोरला नाका, नेपालतर्फ १ हजार ७ सय विद्युतीय गाडी रोकिए

कोरला नाकामा हिमपात
हिउँले छेक्यो कोरला नाका, नेपालतर्फ १ हजार ७ सय विद्युतीय गाडी रोकिए

१९ कात्तिक, पोखरा । चीनसँगको उत्तरी व्यापारिक नाका कोरला पछिल्लो समय बाढीपहिरो र हिमपातका कारण पटक–पटक अवरुद्ध हुन थालेको छ । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको नाका खुलेको केही समयमै बाक्लो हिमपातका कारण पुनः प्रभावित भएको हो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका क्षतिग्रस्त बनाएपछि चीनसँगको व्यापारका लागि कोरला नाका विकल्प बनेको थियो । त्यसयता मुस्ताङ हुँदै विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिने क्रम बढेको थियो ।

तर, असोज ११ गतेको बाढीले बेनी–कोरला सडकको म्याग्दी तथा मुस्ताङ खण्डमा क्षति पुर्‍याएपछि असोज अन्तिमतिर मात्रै सडक सञ्चालनमा आएको थियो । त्यसपछि कात्तिक १२ गतेदेखि नेपालमा प्रभाव पार्न थालेको अर्नब चक्रवातका कारण उपल्लो मुस्ताङमा बाक्लो हिमपात भयो । कोरला नाकादेखि करिब १४ किलोमिटर वर न्हेचुङसम्म हिउँ जमेपछि सवारी आवागमन ठप्प हुन पुगेको छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङदेखि कोरला नाकाको दशगजा क्षेत्रसम्मको सडकमा जमेको हिउँ पन्छाउने काम गाउँपालिकाको नेतृत्वमा भइरहेको छ । तर, सडक पूर्ण रूपमा सहज हुन सकेको छैन ।

‘चार दिन भइसक्यो हिउँ पन्छाउन थालेको । हिउँ फाल्यो, फेरि जमिहाल्छ । हिउँ फाल्दै गाडी पठायो, फेरि रोकिइहाल्छ,’ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले भने, ‘रसुवा नाकापछि यो नाका विकल्प बनेको थियो । कहिले बाढीपहिरोले समस्या पार्छ, कहिले हिउँले छेक्छ ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले कालीगण्डकीको बाढीले पुर्‍याएको क्षति मर्मत गरेर बेनीदेखि कोरला सडक सञ्चालनमा आए पनि अहिले हिउँ र चिसोका कारण नाकामा अवरोध भएको बताए ।

‘हिउँ फाल्यो, फेरि पानी जमिहाल्दो रहेछ । अन्त ठूलो समस्या छैन तर कोरलामा हिउँ र चिसोले नै पूर्णरूपमा सञ्चालन हुन दिइरहेको छैन,’ उनले भने, ‘गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको टोलीले दिनहुँ नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न काम गरिरहेको छ ।’

हिउँ पन्छाउन चीनले दियो बुल्डोजर

कोरला नाकामा जमेको हिउँ हटाउन चीनको स्थानीय सरकारले बुल्डोजर सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको आग्रहमा चीनको झोङ्बा काउन्टी जनसरकारले बुल्डोजर उपलब्ध गराएको हो ।

‘गाउँपालिकाको डोजरले पनि काम गरिरहेको छ र चीनको स्थानीय सरकारले दिएको डोजर पनि लगाएर हिउँ फालिएको छ,’ केही दिनदेखि आफैं हिउँ पन्छाउने काममा खटिएका अध्यक्ष गुरुङले भने, ‘अब चिसोले पनि बिस्तारै समस्या पार्छ तर आज (बिहीबार)बाट भने धेरै सहज हुने विश्वास छ ।’

अहिले कोरला नाकाको नेपालतर्फ करिब १ हजार ७ सय गाडी रोकिएका छन् । ती गाडीको भन्सार जाँचपास हुन बाँकी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा अहिलेसम्म ७ हजार १ सय विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । रसुवागढी नाका बाढीले क्षतिग्रस्त बनाएपछि कोरला नाकाबाट सवारीसाधन आयात बढेको हो ।

कालीगण्डकीको बाढीले सडकमा पुर्‍याएको क्षति मर्मत गरी नाका पुनः सञ्चालनमा आएपछि मात्रै ४ हजार ४३७ वटा गाडी नेपाल भित्रिएको पौडेलले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका प्रमुख दीपक कोइरालाले आगामी दिनमा चिसोका कारण थप समस्या आउन सक्ने बताए । अत्यधिक चिसोमा सवारीसाधन स्टार्ट हुनसमेत समस्या देखिने उनको भनाइ छ ।

अहिले नाकामा कन्टेनरको चाप केही कम भए पनि कोरला हुँदै सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन् । त्यसपछि लत्ताकपडालगायत चिनियाँ उत्पादन नेपाल भित्रिने गरेका छन् ।

सशस्त्र प्रहरीका सूचना अधिकारी पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष कोरला नाकाबाट बढी सवारीसाधन आयात भएका छन् । रसुवागढी नाका अवरुद्ध भएपछि कोरलाबाट हुने व्यापारिक गतिविधि बढेको उनले बताए ।

कोरला नाकामा पूर्वाधार अभाव, सरकारको ध्यान नपुगेको गुनासो

चीनसँगको उत्तरी व्यापारिक नाका कोरला नेपालको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास हुँदै गएको छ । रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरलाको व्यापारिक महत्त्व थप बढेको छ । तर, व्यापारिक गतिविधि र राजस्व संकलन बढ्दै गए पनि नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणमा सरकारले पर्याप्त ध्यान नदिएको स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको गुनासो छ ।

चक्रवातका कारण कोरलामा दुई फिटसम्म हिउँ परेको थियो । अत्यधिक चिसो र हिमपातका कारण सवारी आवागमनमा मात्रै नभई भन्सार तथा अन्य सरकारी कार्यालयको कामकाजमा समेत समस्या भइरहेको छ । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार कोरला क्षेत्रमा तापक्रम माइनस ५ देखि माइनस ११ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ स्थित नेपाल–चीन सीमामा अध्यागमन कार्यालय सञ्चालनका लागि १० कोठे प्रिफ्याब भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारले निर्माण गरेको उक्त भवनको २०८१ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए ।

भवन निर्माणसँगै नाकामा विद्युत् र सञ्चार सुविधा विस्तार गर्ने काम पनि गरिएको थियो । तर, उद्घाटन भएको लामो समयसम्म अध्यागमन कार्यालय नियमित सञ्चालनमा आउन सकेन । २०८२ वैशाखसम्म कार्यालयमा ताला लागेको थियो । त्यसपछि २०८२ कात्तिक २१ गतेदेखि अध्यागमन सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । तर, अहिले पनि कार्यालय नियमित सञ्चालनमा आउन नसकेको गुनासो छ ।

कोरला नाकामा अध्यागमन कार्यालयको भवन बने पनि भन्सार, क्वारेन्टाइनलगायत अन्य सरकारी कार्यालयका संरचना भने सीमाक्षेत्रमै छैनन् । मुस्ताङ भन्सार कार्यालय सीमाबाट करिब १३ किलोमिटर तल लोमान्थाङ–४ नेचुङमा छ । त्यहाँ पुराना पाँचवटा भवनबाट भन्सारको काम भइरहेको छ । कर्मचारी बस्न र कार्यालय सञ्चालन गर्न पर्याप्त पूर्वाधार छैन ।

‘यहाँ आएर काम गर्नै सकस छ । चिसो र हिउँका कारण धेरै कुरामा कठिनाइ हुन्छ तर सरकारले सुविधा उपलब्ध गराउनेतिर ध्यान दिन सकेको छैन,’ भन्सार कार्यालयका एक कर्मचारीले भने, ‘अहिले त भन्सार कार्यालय नै प्रमुखविहीन छ । नयाँ खटिएर आउने भनिएको छ तर कहिले आइपुग्ने हो पत्तो छैन ।’

सीमाक्षेत्रमा निर्माण गरिएका संरचनामध्ये वनस्पति क्वारेन्टाइनको अवस्था पनि उस्तै छ । क्वारेन्टाइनका लागि भवन निर्माण गरिएको भए पनि उक्त भवनमा अहिले प्रहरी बसेका छन् ।

कोरला नाकामा एकीकृत भन्सार र सुख्खा बन्दरगाह निर्माण गर्ने योजना सरकारले वर्षौंदेखि अघि बढाउँदै आएको छ । त्यसका लागि सीमाक्षेत्रमा करिब एक हजार रोपनी जग्गा प्राप्त गरिएको विवरण सार्वजनिक भएको छ । तर, जग्गा प्राप्तिको प्रक्रिया अघि बढे पनि एकीकृत भन्सार तथा सुख्खा बन्दरगाहका स्थायी संरचना निर्माण हुन सकेका छैनन् ।

व्यापारिक सम्भावना बढ्दै गएको कोरला नाका पटक–पटक प्राकृतिक विपत्तिका कारण प्रभावित भइरहँदा सडकको नियमित मर्मत, हिमपात व्यवस्थापन र आवश्यक सरकारी पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

यो पनि

ताजा अपडेट

१ घण्टा अघि

गत वर्ष जेनजी आन्दोलनको बलमा सत्ताच्यूत भएको एमाले र विपक्षमा रहेको साबिक वामपन्थी घटक मिलेर बनेको नेकपाले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठुलो धक्का बेहोर्‍यो । चुनावमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक सिट जितेर सरकार बनाएपछि यी दुई ठुला दल सत्ताबाट किनारामा धकेलिएका थिए । संघमा एकसाथ सत्ता गुमाएका एमाले र नेकपाले गत साउन ९ गते प्रदेशमा सत्ता सहकार्यसम्बन्धी सहमतिमा हस्ताक्षर गरे । उक्त सहमति तत्कालका लागि आगामी स्थानीय तहसम्म सहकार्यका लागि गरिएको भए पनि चुनावी परिणामा राम्रो आएमा एकतासम्मको तयारी हुने राजनीतिक वृत्तमा चर्चा गरिएको थियो । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले अहिले एमालेसँग एकताको कुनै सम्भावना नदेखिएको स्पष्ट पारेका छन् । ‘राष्ट्रिय मुद्दामा कम्युनिस्ट, वामपन्थी लगायत देशभक्त शक्तिहरूसँग सहकार्य गरेर जाने पार्टीको नीति हो । पार्टीको निर्णय अनुसार नै एमालेसँग सत्ता सहकार्य गरेका हौँ’, ज्वालाले भने, ‘तत्काल एमालेसँग एकता हुने सम्भावना छैन । अहिले सहकार्य गरेका छौँ । आगामी स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट घटकहरूबिच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । चुनावी परिणाम राम्रो आएमा एमालेसँग एकता पनि हुन सक्छ ।’ एमालेका सचिव महेश बस्नेतले जेनजी घटनाले एमाले र ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका कांग्रेसका सभापति गगन थापा र प्रचण्ड अहिले सहकार्यको बाटोमा अगाडि बढेकोमा खुसी व्यक्त गरेका छन् । ‘२३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी, विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति सबैलाई गम्भीर बनाएको देखिन्छ’, बस्नेतले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरू भएको छ । यो राम्रो पक्ष हो ।’ २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि पहिलो पटक ओली र प्रचण्डबिच सत्ता सहकार्य भएको थियो । तर, नौ महिनामै प्रचण्डले ओली सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाएका थिए । २०७४ सालमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव अगाडि बढाएका थिए । निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउने सर्तमा त्यतिबेला चुनावी गठबन्धन बनाउन आफू राजी भएको प्रचण्डले जिकिर गरेका छन् । एकता घोषणा कार्यक्रममा उनले ५०औँ वर्ष सत्ता सञ्चालन गर्नेगरी दुई पार्टीबिच एकता र सहकार्य गरिएको भए पनि ओलीको अहंकारका कारण विघटन भएको आरोप लगाए । त्यतिबेला एमाले–माओवादी केन्द्रको कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभामा दुई तिहाइ नजिक सिट हासिल गरेको थियो । पूर्वसहमति बमोजिम ओली प्रधानमन्त्री भएका थिए । २०७५ साल जेठ ३ गते दुई पार्टीबिच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । ओली–प्रचण्डबिच सत्ता र शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै पार्टी विघटन भएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार २०७८ असारमा ओली सरकार ढल्यो । २०७९ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबिच फेरि सत्ता सहकार्य भए पनि लामो समय टिक्न सकेन । इतिहासका यिनै पृष्ठभूमिका कारण तत्काल एमाले र नेकपाबिच एकता नहुने दुवै दलका नेताहरू बताउँछन् । आगामी चुनावसम्म सहकार्य गर्दै जाने, त्यतिन्जेल सकारात्मक वातावरण र आपसी सम्बन्धमा विश्वासिलो आधार बनेमा पार्टी एकताको प्रक्रियामा अघि बढ्ने उनीहरू बताउँछन् ।

यो साताको प्रचलित

खोजी गर्नुहोस