
१९ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा देशका अधिकांश स्थानमा मौसम घमाइलो रहने भएको छ । मौसमविद्हरूले आगामी एक सातासम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना नरहेको पूर्वानुमान गरेका छन् ।
एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि त्यसले जनजीवनमा खासै प्रभाव नपार्ने मौसमविद्हरूको भनाइ छ ।
यस वर्ष यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार कात्तिक २२ गते परेको छ भने भाइटीका कात्तिक २५ गते मनाइँदैछ ।
जल तथा मौसम विज्ञान विभागले कात्तिक १९ देखि २३ गते (गाईपूजा) सम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै यस अवधिमा मौसममा उल्लेख्य फेरबदल नहुने जनाएको छ ।
विभागको मौसम बुलेटिनअनुसार देशका एक–दुई स्थानमा मात्र हल्का वर्षा हुने सम्भावना छ । तराई, मधेश, उपत्यका तथा खोँचहरूमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आगामी एक साताको मौसमबारे जानकारी दिँदै तिहार अवधिभर व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको बताएका छन् ।
मौसम अनुकूल रहने देखिएकाले तिहार धुमधामसँग मनाउन तथा धान काट्ने तयारीमा रहेका किसानका लागि पनि आगामी दिन सहज हुने उनको भनाइ छ ।
तर, घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्ने जोखिमप्रति भने उनले ध्यानाकर्षण गराएका छन् ।
जाडोयाममा वर्षा कम हुने, हावाको गति कमजोर हुने तथा उद्योग कलकारखाना, सवारीसाधन, कृषि गतिविधि र पूर्वाधार निर्माणका काम जारी रहने भएकाले वायु प्रदूषण बढ्ने गर्दछ ।
त्यसैले तिहारमा मौसम अनुकूल रहे पनि काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।