
१९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले सहरदेखि गाउँसम्म छाएको छ । तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाका न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमिलगायत प्रमुख व्यापारिक केन्द्रमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मखमलीको माला र भाइमसला (ड्राइफ्रुट्स) उपहार दिने परम्परा छ । यही परम्पराका कारण अन्य समयमा कम खपत हुने सुक्खा फलफूलको माग तिहारमा अत्यधिक हुने गर्छ ।
काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिरलगायतका सामग्रीले सजिएका पसलमा ग्राहकको भीड लाग्न थालेको छ । तर, यसपालि भाइमसला किन्न बजार पुगेका उपभोक्ता मूल्य सुनेर झस्किन थालेका छन् ।
तिहार सुरु भइसक्दा बजारमा भाइमसलाको मूल्य छोइनसक्नु भएको छ । केही मसलाको मूल्य गत वर्षको तुलनामा दोब्बरसम्म पुगेको छ ।
यस वर्ष भाइमसला खरिद गर्न बजार पुगेका उपभोक्तालाई सबैभन्दा ठूलो झट्का पिस्ताको मूल्यले दिएको छ । नयाँ बानेश्वरस्थित होलसेल पसल मसला भण्डारका सञ्चालक बच्चन साहका अनुसार गत वर्षको तुलनामा यस वर्ष पिस्ता, बदाम, ओखरलगायतका मसलाको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
उनका अनुसार यस वर्ष सबैभन्दा बढी पिस्ताको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार रुपैयाँमा पाइने पिस्ताको मूल्य यस वर्ष ४ हजार रुपैयाँभन्दा माथि पुगेको छ ।
‘गत वर्ष पिस्ता २ हजार थियो, अहिले बढेर ४ हजार पुगेको छ,’ उनले भने ।
त्यसैगरी बदाम र ओखरको मूल्य पनि बढेको छ । गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँमा पाइने बदाम अहिले १ हजार ८ सय रुपैयाँ पुगेको छ । ५ सय रुपैयाँ किलोमा पाइने ओखरलाई अहिले ६ सयदेखि ६ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।
सुकुमेलको मूल्य पनि गत वर्ष प्रतिकिलो ७ हजार रुपैयाँ रहेकोमा यस वर्ष ८ हजार रुपैयाँसम्म पुगेको साहले जानकारी दिए ।
यस्तै, काजु प्रतिकिलो २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म पुगेको छ । मखनाको मूल्य प्रतिकिलो २ हजार रुपैयाँ छ । नरिवल १ हजार रुपैयाँ र किसमिस ५ सयदेखि ६ सय रुपैयाँ प्रतिकिलोमा होलसेलमै बिक्री भइरहेको छ ।
उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार प्याक गरिएका वा खुला भाइमसला खरिद गरिरहेका छन् । तर, मूल्यवृद्धिका कारण यस वर्ष तिहारको किनमेल बजेट भने बढेको छ ।
होलसेलमै भाइमसलाको मूल्य बढ्नुमा मुख्यतः आयातमार्गमा अवरोध, भन्सारको ढिलासुस्ती र अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि कारण रहेको व्यापारीहरू बताउँछन् ।
चीनबाट आउने सामान अवरुद्ध भएपछि भारतीय बजारमा निर्भर हुनुपरेको व्यापारीहरूको भनाइ छ ।
‘अन्तर्राष्ट्रियस्तरमा युद्धलगायतका कारण त्यहाँ नै महँगी छ । त्यसमाथि चीनको बाटो अवरुद्ध छ, त्यहाँबाट माल आइरहेको छैन,’ व्यापारी साहले भने, ‘त्यसैले हामीले अहिले दिल्लीको खारी बावलीबाट सामान ल्याइरहेका छौं ।’
होलसेलमै महँगो भएपछि खुद्रा बजारमा सामानको मूल्य थप बढ्ने गरेको छ । चाडपर्वका बेला उपभोक्ता चर्को मूल्य तिर्न बाध्य हुँदै आएका छन् । गत वर्षको तिहारमा पनि ड्राइफ्रुट्सको मूल्य ५० देखि ३ सय रुपैयाँसम्म बढेको थियो ।
खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघले होलसेल व्यापारीले खुद्रा व्यापारीलाई काजु, बदामलगायत ड्राइफ्रुट्सको वास्तविक मूल्य र बिल उपलब्ध नगराउने गरेको आरोप लगाउँदै आएको छ ।
होलसेलबाटै महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने भएकाले उपभोक्तालाई सस्तोमा बिक्री गर्न नसकिने खुद्रा व्यापारीको दाबी छ ।
बजार अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने भाइमसलाको मूल्यवृद्धिबारे अहिलेसम्म अनुगमन गरेको छैन ।
चीनतर्फको बाटो बिग्रिएको र भारतबाटै सामान महँगो भएर आएको बहाना बनाउँदै केही व्यापारीले मनपरी मूल्य लिइरहेको उपभोक्ताको गुनासो छ । तर, विभागले अहिलेसम्म भाइमसलाको मूल्य अनुगमन नगरेको स्वीकार गरेको छ ।
विभागका सूचना अधिकारी अनिल किराँतीले विभागको ध्यान अहिले खानेतेल र मिठाईको अनुगमनमा केन्द्रित रहेको बताए ।
बजारमा भाइमसलाको मूल्य अत्यधिक बढेको विषयमा सोधिएको प्रश्नमा उनले यसतर्फ ध्यान दिन नसकिएको बताए ।
‘ड्राइफ्रुट्सको मूल्यका बारेमा हामीले अनुगमन गरेका छैनौं,’ उनले भने, ‘हामीले अहिले खानेतेल र मिठाईहरूको चाहिँ हेरिरहेका छौं ।’
उनले बिहीबारदेखि अनुगमन टोली यस क्षेत्रमा पनि खटिने जानकारी दिए ।
चाडपर्वको समयमा बजारमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि हुने गुनासो बर्सेनि आउने गरे पनि नियामक निकायले समयमै अनुगमन र कारबाही नगर्दा उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् ।
विभागले भोलिदेखि अनुगमन टोली खटाउने आश्वासन दिए पनि अधिकांश उपभोक्ताले महँगो मूल्यमा तिहारको किनमेल गरिसकेका छन् ।
बजारमा अभाव र महँगीको चर्चा चलिरहेका बेला भन्सार विभागको तथ्यांकले भने दसैं र तिहारलाई लक्षित गर्दै असोज महिनामै ठूलो परिमाणमा ड्राइफ्रुट्स आयात भएको देखाउँछ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तथ्यांकअनुसार असोजमा मात्रै ९१ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको ५६ लाख ७२ हजार ९ सय २१ किलो भाइमसला (काजु, बदाम, ओखर, नरिवललगायत) आयात भएको छ ।
चीन, अमेरिका, भारत, भियतनामलगायत देशबाट व्यापारीहरूले चाडपर्वको मुखमा यति ठूलो परिमाणमा सामान भित्र्याएका हुन् ।
मूल्यका आधारमा हेर्दा असोजमा सबैभन्दा धेरै रकमको ओखर नेपाल भित्रिएको छ । एक महिनाको अवधिमा बोक्रा भएको र नभएको गरी कुल ८ लाख ५७ हजार ७ सय ६८ किलो ओखर आयात भएको छ । त्यसका लागि नेपालबाट ३५ करोड ५० लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ ।
ओखरको सबैभन्दा ठूलो हिस्सा ७ लाख ३८ हजार ५ सय किलो चीनबाट आएको छ भने अमेरिकाबाट १ लाख १९ हजार किलो भित्रिएको छ ।
परिमाणका हिसाबले भने नेपालमा सबैभन्दा धेरै नरिवल भित्रिएको छ । असोजमा मात्रै ४४ लाख ६७ हजार २ सय ६५ किलो नरिवल आयात भएको छ । यसको कुल आयात मूल्य २४ करोड ४ लाख १० हजार रुपैयाँ रहेको छ । तथ्यांकअनुसार नेपालमा आयात हुने लगभग शतप्रतिशत नरिवल भारतबाट आउने गरेको छ ।
त्यस्तै, तिहारमा अत्यधिक माग हुने काजु आयात पनि उच्च छ । असोजमा मात्रै २० करोड ५८ लाख ८५ हजार रुपैयाँ बराबरको २ लाख १३ हजार १ सय ८९ किलो काजु आयात भएको छ ।
यसपालि काजु आयातमा भियतनामले भारतलाई उछिनेको छ । भियतनामबाट १ लाख २० हजार १ सय ३४ किलो काजु भित्रिँदा भारतबाट ९२ हजार ८ सय ५३ किलो मात्रै आयात भएको छ ।
बदाम आयात पनि उल्लेख्य छ । एक महिनामा ९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख ५ हजार ५ सय ९८ किलो बदाम नेपाल भित्रिएको छ । यसको मुख्य स्रोत अमेरिका हो । कुल परिमाणमध्ये १ लाख ४ हजार ४ सय ८७ किलो बदाम अमेरिकाबाटै आएको छ ।
यसबाहेक असोजमा मात्रै १ करोड ७० लाख रुपैयाँ बराबरको २६ हजार ५ सय ३७ किलो अन्जिर भारतबाट आयात भएको छ । त्यस्तै, १४ लाख ५७ हजार रुपैयाँ बराबरको १ हजार ३ सय ८४ किलो पिस्ता विभिन्न देशबाट नेपाल भित्रिएको छ ।
एकातिर भन्सार विभागको तथ्यांकले बजारमा ठूलो परिमाणमा भाइमसला भित्रिएको देखाउँछ भने अर्कोतिर व्यापारीले आयातमार्ग अवरुद्ध भएको र सामान ढिलो आएको कारण देखाउँदै मूल्य बढाइरहेका छन् ।
यसले बजारमा भाइमसलाको मूल्यवृद्धिको वास्तविक कारण, आयातित सामानको मौज्दात र व्यापारीको मूल्य निर्धारण प्रक्रियामाथि थप प्रश्न खडा गरेको छ । उपभोक्ताले चाडपर्वका बेला चर्को मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न प्रभावकारी बजार अनुगमन र मूल्य पारदर्शिता आवश्यक देखिएको छ ।