
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस जितेको जनकपुरले लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टोली हो । तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ ।
यता, जनकपुरले चार खेल खेल्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । चार अंक जोडेको जनकपुर लुम्बिनीलाई हराउँदै आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ ।
आजको खेलमा लुम्बिनीले एक र जनकपुरले दुई खेलाडी परिवर्तन गरेका छन् ।
लुम्बिनीले अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा खेलाएको छ । यस्तै, जनकपुरले अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोनलाई टोलीमा समावेश गरेको छ ।
मोइन अलीले सुरुवाती चार खेल खेलेपछि अबुधाबी टी–१० लिग खेल्न गइसकेका छन् ।