
१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका विदेश सचिव मिश्रीले आफ्नो उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् ।
प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय विदेश सचिवको यो भ्रमणलाई कूटनीतिक वृत्तमा महत्त्वपूर्ण रूपमा हेरिएको छ । दुई देशबीचका बाँकी विषयमा समझदारी निर्माण गर्न र उच्चस्तरीय संवादलाई निरन्तरता दिन यस्ता भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने कूटनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ ।