२०८३ कार्तिक २०, बिहिबार

२०८५ सालको तिहार

२०८५ सालमा लक्ष्मीपूजाको एक महिनापछि भाइटीका पर्ने हो ? यस्तो छ पञ्चाङ्गविद्को भनाइ

२०८५ सालमा लक्ष्मीपूजाको एक महिनापछि भाइटीका पर्ने हो ? यस्तो छ पञ्चाङ्गविद्को भनाइ
२०८५ सालमा लक्ष्मीपूजाको एक महिनापछि भाइटीका पर्ने हो ? यस्तो छ पञ्चाङ्गविद्को भनाइ

काठमाडौं । यस वर्षको तिहार नजिकिँदै गर्दा सामाजिक सञ्जालमा २०८५ सालको तिहारबारे पनि चर्चा सुरु भएको छ । विशेषगरी २०८५ सालमा लक्ष्मीपूजाको झन्डै एक महिनापछि मात्रै भाइटीका पर्ने दाबीसहितका सामग्री सामाजिक सञ्जालमा फैलिरहेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणअनुसार २०८५ सालको कात्तिक २ गते लक्ष्मीपूजा पर्ने र त्यसको भोलिपल्टदेखि अधिकमास (मलमास) सुरु हुने उल्लेख छ । त्यसपछि मंसिर १ गतेसम्म अधिकमास रहने र मंसिर २ गते गोवर्धन पूजा तथा ३ गते भाइटीका पर्ने दाबी गरिएको छ ।

दसैँ सकिनुअघि नै सुरु भएको यो चर्चाले धेरैको ध्यान तानेको छ । कतिपयले यसलाई अनौठो खगोलीय संयोग भन्दै भिडियोसमेत बनाएर प्रचार गरिरहेका छन् ।

तर, २०८५ सालमा वास्तवमै लक्ष्मीपूजाको एक महिनापछि भाइटीका पर्ने हो त ? यस विषयमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान कार्यकारी निर्देशक पण्डित आचार्य लक्ष्मण पन्थीले प्रारम्भिक गणनाअनुसार त्यस्तो सम्भावना देखिए पनि अहिल्यै आधिकारिक रूपमा पुष्टि गर्न नसकिने बताएका छन् ।

उनका अनुसार हालसम्म २०८४ सालकै पञ्चाङ्गको निर्णय भइसकेको छैन । यस्तो अवस्थामा २०८५ सालको तिथिमिति र चाडपर्वबारे अहिले नै ठोकुवा गर्नु उचित हुँदैन ।

पन्थीका अनुसार अहिलेसम्म प्रयोग हुँदै आएको पञ्चाङ्गीय सिद्धान्तअनुसार २०८५ सालको कात्तिक १ गते बिहान ११ बजेर १७ मिनेटसम्म कृष्ण चतुर्दशी रहनेछ । त्यसपछि औँसी सुरु भएर कात्तिक २ गते बिहान ८ बजेर ५९ मिनेटसम्म रहने प्रारम्भिक गणना छ ।

त्यसपछि कात्तिक ३ गतेदेखि अधिकमास सुरु हुने र मंसिर १ गते साँझ ७ बजेर २० मिनेटसम्म रहने देखिन्छ । यस आधारमा मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्ने सम्भावना रहेको उनले बताए ।

यद्यपि, लक्ष्मीपूजा भने कात्तिक १ गते नै मनाउनुपर्ने देखिन्छ । पन्थीका अनुसार लक्ष्मीपूजा मनाउन प्रदोषकालमा औँसी तिथि हुनुपर्छ । कात्तिक २ गते औँसी बिहान ८ बजेर ५९ मिनेटसम्म मात्रै रहने भएकाले प्रदोषकालमा औँसी पर्ने दिन कात्तिक १ गते हुनेछ ।

उनले अधिकमासको बीचमा कुनै पनि पर्व नपर्ने भएकाले त्यसपछि शुद्ध पक्षको तिथिअनुसार चाडपर्व मनाउनुपर्ने बताए ।

के हो अधिकमास र क्षयमास ?

पन्थीका अनुसार सूर्य र चन्द्रमासको संयोजनका आधारमा सामान्य महिना, अधिकमास र क्षयमास गरी तीन प्रकारका महिना हुन्छन् ।

एउटा चन्द्रमासभित्र एउटा मात्रै सङ्क्रान्ति परेमा सामान्य महिना हुन्छ । एउटा चन्द्रमासभित्र कुनै पनि सङ्क्रान्ति नपरेमा अधिकमास हुन्छ भने दुईवटा सङ्क्रान्ति परेमा क्षयमास हुने गर्छ ।

एउटा औँसीदेखि अर्को औँसीसम्मको अवधिलाई एक चन्द्रमास भनिन्छ । चन्द्रमासको यही गणनाका आधारमा अधिकमास र क्षयमास निर्धारण गरिन्छ ।

प्रारम्भिक गणनाअनुसार २०८५ सालमा कात्तिक र चैतमा अधिकमास तथा पुसमा क्षयमास पर्ने सम्भावना रहेको पन्थीले बताए । तर, यस्तो अवस्था कुन वर्ष पर्छ भन्ने कुरा सामान्य पात्रो हेरेर मात्रै निर्धारण गर्न नसकिने उनको भनाइ छ । त्यसका लागि खगोलीय गणना र सम्बन्धित पञ्चाङ्ग आवश्यक पर्छ ।

भारतमा भने फरक गणना हुन सक्छ

पन्थीका अनुसार २०८५ सालको अधिकमाससम्बन्धी विषय नेपालमा मात्रै सीमित छैन । भारतमा पनि विभिन्न स्थानमा फरक–फरक सिद्धान्तमा आधारित पञ्चाङ्ग प्रकाशित हुने भएकाले त्यहाँको गणनालाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

भारतमा प्रचलित दृक् सिद्धान्तअनुसार भने २०८५ सालमा अधिकमास देखिने सम्भावना नरहेको उनले बताए ।

यस्तो संयोग विगतमा पनि देखिएको उनको भनाइ छ । २०७७ सालमा श्राद्ध पक्ष सकिएलगत्तै अधिकमास सुरु भएका कारण सामान्य अवस्थामा भोलिपल्ट हुनुपर्ने घटस्थापना एक महिनापछि परेको थियो । यसअघि २०३९ सालमा पनि यस्तै अवस्था देखिएको उनले जानकारी दिए ।

२०८५ सालको पात्रोको निर्णय कहिले हुन्छ ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हालसम्म २०८४ सालको पात्रोसमेत स्वीकृत गरिसकेको छैन । विगतको अभ्यास हेर्दा २०८५ सालको पञ्चाङ्गसम्बन्धी निर्णय २०८४ सालको पुस वा माघ महिनातिर मात्रै हुने सम्भावना रहेको पन्थीले बताए ।

त्यसपछि मात्रै २०८५ सालका चाडपर्वको वास्तविक तिथि र मिति स्पष्ट हुनेछ ।

त्यसैले अहिले सामाजिक सञ्जालमा २०८५ सालको तिहारबारे फैलिएका दाबीलाई आधिकारिक निर्णयका रूपमा लिन नहुने उनको सुझाव छ । प्रारम्भिक खगोलीय गणनालाई नै अन्तिम निर्णय मानेर दुई वर्षअघि नै निश्चित मिति घोषणा गर्नु उपयुक्त नहुने उनले बताए ।

यो पनि

ताजा अपडेट

१ घण्टा अघि

गत वर्ष जेनजी आन्दोलनको बलमा सत्ताच्यूत भएको एमाले र विपक्षमा रहेको साबिक वामपन्थी घटक मिलेर बनेको नेकपाले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठुलो धक्का बेहोर्‍यो । चुनावमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक सिट जितेर सरकार बनाएपछि यी दुई ठुला दल सत्ताबाट किनारामा धकेलिएका थिए । संघमा एकसाथ सत्ता गुमाएका एमाले र नेकपाले गत साउन ९ गते प्रदेशमा सत्ता सहकार्यसम्बन्धी सहमतिमा हस्ताक्षर गरे । उक्त सहमति तत्कालका लागि आगामी स्थानीय तहसम्म सहकार्यका लागि गरिएको भए पनि चुनावी परिणामा राम्रो आएमा एकतासम्मको तयारी हुने राजनीतिक वृत्तमा चर्चा गरिएको थियो । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले अहिले एमालेसँग एकताको कुनै सम्भावना नदेखिएको स्पष्ट पारेका छन् । ‘राष्ट्रिय मुद्दामा कम्युनिस्ट, वामपन्थी लगायत देशभक्त शक्तिहरूसँग सहकार्य गरेर जाने पार्टीको नीति हो । पार्टीको निर्णय अनुसार नै एमालेसँग सत्ता सहकार्य गरेका हौँ’, ज्वालाले भने, ‘तत्काल एमालेसँग एकता हुने सम्भावना छैन । अहिले सहकार्य गरेका छौँ । आगामी स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट घटकहरूबिच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । चुनावी परिणाम राम्रो आएमा एमालेसँग एकता पनि हुन सक्छ ।’ एमालेका सचिव महेश बस्नेतले जेनजी घटनाले एमाले र ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका कांग्रेसका सभापति गगन थापा र प्रचण्ड अहिले सहकार्यको बाटोमा अगाडि बढेकोमा खुसी व्यक्त गरेका छन् । ‘२३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी, विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति सबैलाई गम्भीर बनाएको देखिन्छ’, बस्नेतले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरू भएको छ । यो राम्रो पक्ष हो ।’ २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि पहिलो पटक ओली र प्रचण्डबिच सत्ता सहकार्य भएको थियो । तर, नौ महिनामै प्रचण्डले ओली सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाएका थिए । २०७४ सालमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव अगाडि बढाएका थिए । निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउने सर्तमा त्यतिबेला चुनावी गठबन्धन बनाउन आफू राजी भएको प्रचण्डले जिकिर गरेका छन् । एकता घोषणा कार्यक्रममा उनले ५०औँ वर्ष सत्ता सञ्चालन गर्नेगरी दुई पार्टीबिच एकता र सहकार्य गरिएको भए पनि ओलीको अहंकारका कारण विघटन भएको आरोप लगाए । त्यतिबेला एमाले–माओवादी केन्द्रको कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभामा दुई तिहाइ नजिक सिट हासिल गरेको थियो । पूर्वसहमति बमोजिम ओली प्रधानमन्त्री भएका थिए । २०७५ साल जेठ ३ गते दुई पार्टीबिच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । ओली–प्रचण्डबिच सत्ता र शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै पार्टी विघटन भएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार २०७८ असारमा ओली सरकार ढल्यो । २०७९ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबिच फेरि सत्ता सहकार्य भए पनि लामो समय टिक्न सकेन । इतिहासका यिनै पृष्ठभूमिका कारण तत्काल एमाले र नेकपाबिच एकता नहुने दुवै दलका नेताहरू बताउँछन् । आगामी चुनावसम्म सहकार्य गर्दै जाने, त्यतिन्जेल सकारात्मक वातावरण र आपसी सम्बन्धमा विश्वासिलो आधार बनेमा पार्टी एकताको प्रक्रियामा अघि बढ्ने उनीहरू बताउँछन् ।

यो साताको प्रचलित

खोजी गर्नुहोस