
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ ।
काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन गरेर ब्युरोमा उपस्थित हुन भनिएको हो । शिवाकोटीले आफू काठमाडौं फर्कँदै गरेको र ब्युरोमा उपस्थित हुने बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने उल्लेख गरेका छन् ।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ उनले लेखेका छन् ।
पछिल्लो समय सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै शिवाकोटीले सामाजिक सञ्जालमार्फत निरन्तर प्रतिक्रिया दिँदै आएका छन् ।
साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई उपस्थित हुन भनिएको हो ।