
कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण वा गैरकानुनी कदम चाल्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानका आधारमा सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरेका हुन् ।
सरकारले त्यस्तो कदम चाले कांग्रेसले राजनीतिक रूपमा दृढ प्रतिरोध गर्ने उनको भनाइ छ । उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित गैरकानुनी कदमविरुद्ध एकजुट भएर उभिनसमेत आह्वान गरे ।
‘गैरकानुनी पक्राउ गर्न नमानेपछि आईजीपी हटाइयो’
महामन्त्री राणाले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा मानिसहरू पक्राउ गर्न दबाब दिएको आरोप लगाएका छन् ।
आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ ।
आईजीपी कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको राणाले आरोप लगाए । सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनले बताए ।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बनेको दाबी गरे । पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए ।
सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ । केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
न्यायालयमाथि समेत सरकारले आफ्ना निकट व्यक्तिहरूमार्फत प्रभाव पार्न खोजिरहेको आरोप लगाउँदै राणाले राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने बताए ।
देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै सचेत नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति लागू गर्न खोजेको आरोप लगाउँदै उनले त्यसको प्रतिरोधका लागि जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए ।
‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं ।’