
१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्री शाहले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शाहले शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
त्यसैगरी, देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन पनि उनले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहसँगको भेटमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले चाडपर्वका बेला नागरिकको सुरक्षा तथा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा प्रमुखहरूसँग जानकारी लिएका थिए ।
नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा समेत उनले चासो व्यक्त गरेका थिए ।