
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिमा सुरुमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल भइरहेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू (अर्घाखाँची)लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
गत २० असोजमा बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरू बागचन्द र सारूसहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
हाल समितिले जनक पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिरहेको छ । उजुरीकर्ताहरूले झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिनामा पाण्डेकी श्रीमती माया पुरी पाण्डे पनि संलग्न रहेको आरोप लगाउँदै उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गर्न नहुने तर्क गरेका छन् ।
पाण्डेकी श्रीमती माया पुरी पाण्डेसहित उनकी सासु देवरुपा पुरी, सालो रेवत राज (गगन) पुरी र गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचार मुद्दासमेत सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइपछि समितिले उनीहरूको नियुक्ति अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ ।