
२० कात्तिक, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुने बताएका छन् ।
‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको शुक्रबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।
बेलिब्रिज निर्माण र व्यवस्थापनमा देखिने प्राविधिक कठिनाइबारे जानकारी गराउँदै महानिर्देशक जैसीले बेलिब्रिज राख्न हतार गर्न नहुने बताए । उनका अनुसार धेरै स्थानमा बेलिब्रिज निर्माण गर्नुभन्दा विद्यमान पुलका एप्रोच सडक सुधार गर्नु दीर्घकालीन र सुरक्षित विकल्प हुन सक्छ ।
‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ,’ उनले भने ।
जैसीका अनुसार बेलिब्रिज निर्माण गर्दा बलियो फाउन्डेसन आवश्यक पर्छ । त्यसको सुरक्षाका लागि पनि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ ।
रसुवागढी नाकाको उदाहरण दिँदै उनले बेलिब्रिज निर्माणमा ठूलो खर्च र लामो समय लाग्ने बताए । साथै, वर्षायाम सुरु हुनुअघि नै यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यताले थप आर्थिक भार र प्राविधिक जटिलता सिर्जना गर्ने उनको भनाइ थियो ।
विभागले नियमविपरीत र बजेटको सुनिश्चितताबिना पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उनले जानकारी गराए ।
‘हामीले मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरेका हौँ । तर अहिले बेलिब्रिज राख्ने निर्णय गर्दा आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी लिनुपर्ने हुन्छ,’ जैसीले भने ।
उनले जोखिमको प्राविधिक मूल्यांकन नगरी बेलिब्रिज निर्माण गर्ने निर्णय गर्दा भविष्यमा थप क्षति हुन सक्ने भन्दै सावधानी अपनाउनुपर्नेमा जोड दिए ।