२०८३ कार्तिक २२, शनिबार

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले फैसला कार्यान्वयन, मुद्दा व्यवस्थापन र न्यायमा समान पहुँचलाई प्राथमिकता दिँदै ‘भिजन २०३५’ अघि सारेका छन् ।

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दको ‘भिजन २०३५’, न्यायपालिकालाई नागरिककेन्द्रित बनाउने योजना

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दको ‘भिजन २०३५’, न्यायपालिकामा सुधारको योजना
सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दको ‘भिजन २०३५’, न्यायपालिकालाई नागरिककेन्द्रित बनाउने योजना

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित डा. रत्नबहादुर बागचन्दले न्यायपालिकाको सुधार र प्रभावकारिताका लागि ‘भिजन २०३५’ अघि सारेका छन् ।

संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गरेको कार्ययोजनामा उनले न्यायको वास्तविक अनुभूति, फैसला कार्यान्वयन, मुद्दा व्यवस्थापन, डिजिटल सुरक्षा र नागरिकको न्यायमा समान पहुँचलाई प्राथमिकतामा राखेका छन् ।

बागचन्दले न्यायपालिकालाई फैसला सुनाउने संस्थामा मात्र सीमित नराखी नागरिकले न्याय पाएको अनुभूति गर्ने र अदालतका निर्णय व्यवहारमै कार्यान्वयन हुने संस्थाका रूपमा विकास गर्नुपर्ने अवधारणा अघि सारेका छन् ।

उनले न्यायिक कामको गुणस्तर र प्रभावकारिता मापन गर्न विभिन्न सूचकसमेत प्रस्ताव गरेका छन् । औसत मुद्दा फर्छ्योट अवधि, पुराना मुद्दाको अनुपात, न्यायाधीशले उपलब्ध गराउन सक्ने समय, गुनासो तथा सेवाग्राहीको अनुभवलाई मापनका आधार बनाइएको छ ।

कार्ययोजनामा सातवटा रणनीतिक स्तम्भमार्फत न्यायपालिकाको सुधारको परिकल्पना गरिएको छ । त्यसमा मुद्दाको तयारी र सुनुवाइ प्रभावकारी बनाउने, स्पष्ट र समयमै फैसला तयार गर्ने, डिजिटल प्रमाणको व्यवस्थापन, न्यायमा समान पहुँच तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने विषय समेटिएका छन् ।

फैसला कार्यान्वयनमा जोड

बागचन्दको कार्ययोजनामा फैसला कार्यान्वयनलाई न्यायको वास्तविक परिणामसँग जोडिएको छ । अदालतबाट फैसला हुनु मात्रै पर्याप्त नहुने र त्यसको कार्यान्वयनबाट नागरिकले न्याय पाएको अनुभूति गर्नुपर्ने मान्यता उनले अघि सारेका छन् ।

फैसला कार्यान्वयनका लागि न्यायपालिका र कार्यपालिकाबीच समन्वयको प्रस्तावसमेत गरिएको छ । तर यस्तो संयन्त्रको कानुनी आधार, अधिकार क्षेत्र र संस्थागत सीमाबारे थप स्पष्टता आवश्यक रहेको कार्ययोजनाको विश्लेषणमा औँल्याइएको छ ।

कार्ययोजनाको खण्ड ५.१ र ५.२ मा फैसलाको अर्थ र कानुनी प्रभाव निर्धारण गर्ने अधिकार न्यायपालिकामै रहने तथा कार्यपालिकाले फैसलाको विषयवस्तु परिवर्तन गर्न नसक्ने सीमा उल्लेख गरिएको छ ।

यद्यपि मन्त्रालयको नेतृत्वमा फैसला कार्यान्वयन समन्वय गर्ने प्रस्तावलाई विद्यमान कानुनी व्यवस्थाका रूपमा बुझ्न नमिल्ने विश्लेषण छ ।

विशेषगरी सरकार आफैँ विपक्षी भएको मुद्दामा फैसला कार्यान्वयन रोकिएमा नागरिकले कसरी न्यायिक उपचार पाउने, मन्त्रालयको प्रशासनिक भूमिका के हुने र अदालतको बाध्यकारी नियन्त्रण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा थप कानुनी सुरक्षा आवश्यक देखिएको छ ।

कार्ययोजनामा स्पष्टता भए पनि कार्यान्वयन चुनौतीपूर्ण

कार्ययोजनामा मुद्दाको तयारी, फैसला लेखन, डिजिटल प्रमाण, समान पहुँच र फैसला कार्यान्वयनजस्ता विषय स्पष्ट रूपमा पहिचान गरिएकाले स्पष्टताका आधारमा ७ अंक दिइएको छ ।

तर सातवटा रणनीतिक स्तम्भमध्ये पहिलो वर्षमा कुन कामलाई प्राथमिकता दिने र कस्तो उपलब्धि हासिल गर्ने भन्ने विषय स्पष्ट हुन बाँकी रहेको विश्लेषण छ ।

त्यस्तै, मापनयोग्यताका हिसाबले आंशिक आधार मात्रै प्रस्तुत गरिएको छ । खण्ड १३.१ मा न्यायिक गुणस्तर मापनका विभिन्न सूचक उल्लेख भए पनि तिनको आधाररेखा, लक्ष्य र तथ्यांक संकलन गर्ने विधि स्पष्ट छैन ।

कार्यान्वयनको सम्भाव्यताका हिसाबले मुद्दाको मिसिल तयारी र स्पष्ट फैसला लेखन व्यावहारिक देखिएका छन् । तर प्रस्तावित संयुक्त फैसला कार्यान्वयन मोडेलका लागि कानुनी परीक्षण, लागत र संस्थागत स्वीकृति आवश्यक रहेको औँल्याइएको छ ।

मानव गरिमा, समानता, प्रभावकारी उपचार र अदालतका निर्णयको कार्यान्वयनजस्ता विषय न्यायिक जिम्मेवारीसँग प्रत्यक्ष जोडिएकाले कार्ययोजनाको यो पक्षलाई बलियो मानिएको छ ।

पहिलो वर्षका प्राथमिकता र लक्ष्य तोक्न सुझाव

कार्ययोजनामा ‘भिजन २०३५’, चौमासिक समीक्षा र तीन चरणको अवधारणा उल्लेख भए पनि प्रत्येक चरणको स्पष्ट समयसीमा र पहिलो वर्षमा हासिल गर्नुपर्ने उपलब्धिको माइलस्टोन तोकिएको छैन ।

नागरिकले पाउने न्याय, फैसला कार्यान्वयन र सेवाग्राहीको अनुभवलाई प्राथमिकता दिनु सकारात्मक पक्ष मानिएको छ । न्यायिक गुणस्तरलाई फैसला संख्यामा मात्रै सीमित गर्न नहुने मान्यतालाई पनि कार्ययोजनाले स्वीकार गरेको छ ।

तर नतिजा मापनका लागि आधाररेखा, निश्चित लक्ष्य, जिम्मेवार व्यक्ति, प्रमाणको स्रोत र त्यसका आधारमा सुधार गर्ने प्रक्रियालाई एकीकृत गर्न बाँकी रहेको विश्लेषण छ ।

उदाहरणका लागि, न्यायिक तालिमको संख्या बढेको तथ्य मात्रै पर्याप्त नहुने र तालिमपछि न्यायाधीश तथा कर्मचारीको सीपमा कस्तो परिवर्तन आयो भन्ने पनि मापन गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, फैसला कार्यान्वयनको संख्या मात्रै नभई त्यसबाट नागरिकले पाएको वास्तविक लाभलाई पनि नतिजाका रूपमा हेर्नुपर्ने औँल्याइएको छ ।

कार्ययोजनालाई थप प्रभावकारी बनाउन पहिलो वर्षका दुई प्राथमिक नतिजा छनोट गरी तिनका लागि आधाररेखा, लक्ष्य, जिम्मेवारी, स्रोत, समयसीमा र प्रमाणको स्रोत एउटै कार्यतालिकामा राख्न सुझाव दिइएको छ ।

साथै, व्यक्तिगत जिम्मेवारीमा पर्ने काम र संस्थागत स्वीकृतिमा निर्भर रहने कामलाई छुट्याउनुपर्ने पनि औँल्याइएको छ ।

समग्रमा बागचन्दको ‘भिजन २०३५’ ले न्यायपालिकाको सुधारका लागि नागरिककेन्द्रित र नतिजामुखी अवधारणा अघि सारेको छ । तर यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट लक्ष्य, समयसीमा, कानुनी आधार र जिम्मेवारी निर्धारण गर्नुपर्ने देखिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस