
२० कार्तिक, काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित चीनको एक्जिम बैंकबाट लिइएको ऋण, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण झिकाउन आदेश दिएको हो ।
त्यस्तै, चिनियाँ निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाई, भुक्तानी भइसकेको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन अदालतले आदेश दिएको छ ।
गत वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूमाथि ३ अर्ब ६२ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
अख्तियारका अनुसार मूल सम्झौतामा ठेकेदार कम्पनीले नै कर, महसुल तथा अन्य शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । तर, पछि कार्यान्वयनसम्बन्धी अर्को सम्झौता गरी ती सबै शुल्क छुट दिने व्यवस्था गरिएको थियो । यस्तो सम्झौता बदनियतपूर्ण रहेको अख्तियारको दाबी छ ।
कर, महसुललगायतका रकम राज्यकोषमा दाखिला हुन नदिई चिनियाँ कम्पनी सीएएमसीलाई दोहोरो लाभ हुने गरी काम गरिएको अख्तियारको आरोप छ । अदालतले ऋण र भुक्तानीसम्बन्धी विवरण माग गरेसँगै मुद्दाको सुनुवाइमा यी विषयसमेत थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।