२०८३ कार्तिक २२, शनिबार

दशौँ राष्ट्रिय खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन
दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण तथा व्यवस्थापकीय प्रगतिको अवस्था बुझ्न मन्त्री बादी रङ्गशाला पुगेकी हुन्।
अनुगमनका क्रममा उनले खेल मैदान, प्यारापिटलगायत निर्माणाधीन भौतिक संरचनाको अवस्थाबारे जानकारी लिनुका साथै प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सम्बन्धित सरोकारवालासँग छलफल गरेकी थिइन्।
मन्त्री बादीले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे समेत चासो व्यक्त गरिन्।
प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन सबै पक्षले आवश्यक तयारी समयमै पूरा गर्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयभित्र सम्पूर्ण काम सम्पन्न गर्न निर्देशन दिइन्।
राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास तथा राष्ट्रिय एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीवासीका लागि गौरवको विषय भएको बताइन्।
प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै उनले तयारीमा कुनै कमी हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरिन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस