
२७ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको भीषण सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय हाइस गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाका बेला गाडीमा चालकसहित २० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाएका छन् ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चालकसहित सर्लाहीका यात्रु रहेका छन् । बाँकी तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि काठमाडौं तथा चितवनका अस्पतालमा रिफर गरिएको छ ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।