
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ५०० ग्राम थाई गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार भारतको उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनी नयाँ दिल्लीबाट काठमाडौं आएका थिए। थाइल्यान्डबाट आएको गाँजा राखिएको लगेज विमानस्थलबाट बुझेर बाहिरिने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
लागुऔषध नियन्त्रण ब्युरेका एसपी दुर्गाराज रेग्मीका अनुसार थाइल्यान्डबाट गाँजा बोकेर आएको विमानको आगमन समय मिलाएर सलमान दिल्लीबाट काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीको आशंका अनुसार उनले थाइल्यान्डबाट पठाइएको लगेज विमानस्थलमा बुझ्ने जिम्मेवारी लिएका थिए। घटनाको अनुसन्धानका क्रममा गाँजा कसले पठाएको हो र यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले यस घटनामा कुनै संगठित लागुऔषध कारोबारको सञ्जाल सक्रिय रहेको छ वा छैन भन्नेबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका सलमानमाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको छ।