२०८३ मंसिर २, मंगलबार

रातिको समयमा पनि किनमेल गर्न सकिने, ग्राहकको सुविधाका लागि सेवा विस्तार

भाटभटेनीको टंगाल शाखा अब २४ सै घण्टा खुला, ग्राहकले राति पनि किनमेल गर्न पाउने

भाटभटेनीको टंगाल शाखा २४ सै घण्टा खुला
भाटभटेनीको टंगाल शाखा अब २४ सै घण्टा खुला, ग्राहकले राति पनि किनमेल गर्न पाउने

१ मंसिर, काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आएको छ ।

ग्राहकले रातिको समयमा समेत आफ्नो अनुकूलताअनुसार किनमेल गर्न सकून् भन्ने उद्देश्यले टंगाल शाखालाई २४ सै घण्टा खुला गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

यसअघि भक्तपुरको राधेराधे शाखाबाट भाटभटेनीले चौबिसै घण्टे सेवा सुरु गरेको थियो । अब टंगाल शाखाबाट पनि ग्राहकले जुनसुकै समयमा किनमेल गर्न सक्नेछन् ।

व्यवसायी मीनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरको हाल देशभर २७ वटा शाखा सञ्चालनमा छन् । कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ भने देशभरका स्टोरमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । उक्त घटनाबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो ।

ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले कुनै पनि कर्मचारीको रोजगारी नगुमाई पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको टंगालस्थित भाटभटेनी पनि मर्मत तथा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।

पुनः सञ्चालनमा आएको उक्त शाखालाई आजदेखि चौबिसै घण्टा खुला गरिएसँगै ग्राहकले अब दिन वा रात जुनसुकै समयमा पनि किनमेल गर्न सक्नेछन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस