२०८३ मंसिर २, मंगलबार

आफूलाई जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको कार्कीको दाबी

पूर्वआईजी दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

पूर्वआईजी दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ
पूर्वआईजी दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

१ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

कार्कीले गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । त्यसपछि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको थियो । तर सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएका कारण सुनुवाइ सरेको थियो ।

तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो ।

बुधबार एक न्यायाधीशको इजलासमा कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

सरकारले गत १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अब सर्वोच्च अदालतको प्रारम्भिक सुनुवाइपछि उक्त रिटमा के आदेश हुन्छ भन्ने चासो बढेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस