२०८३ मंसिर २, मंगलबार

तिहार तथा छठ बिदापछि दुवै न्यायाधीश संयुक्त इजलासमा सहभागी

ह्वाट्सएप म्यासेज प्रकरणमा नाम जोडिएका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल इजलासमा फर्किए

ह्वाट्सएप म्यासेज प्रकरणमा नाम जोडिएका प्रधानन्यायाधीश शर्मा र फुयाल इजलासमा फर्किए
ह्वाट्सएप म्यासेज प्रकरणमा नाम जोडिएका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल इजलासमा फर्किए

१ मंसिर, काठमाडौं । इनम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि नाम जोडिएर केही दिन इजलासबाट अलग रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल पुनः इजलासमा फर्किएका छन् ।

तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै दुवै न्यायाधीश इजलासमा सहभागी भएका हुन् ।

प्रधानन्यायाधीश डा. शर्मा नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग संयुक्त इजलासमा बसेका छन् । त्यस्तै, न्यायाधीश फुयाल नवनियुक्त न्यायाधीश गोकर्ण डाँगीसँग संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

इनम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल केही दिन इजलासमा सहभागी भएका थिएनन् । शर्मा अदालत उपस्थित भए पनि इजलास नलिएर न्यायप्रशासनसम्बन्धी अन्य काममा संलग्न थिए भने फुयालले तिहारअघि नै बिदा लिएका थिए ।

तीन साताअघि विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलबाट प्राप्त ह्वाट्सएप म्यासेजमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको नाम जोडिएको विवरण सार्वजनिक भएको थियो ।

सापकोटाको मोबाइललगायत विद्युतीय उपकरणमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सार्वजनिक भएको म्यासेजमा उनले एक व्यक्तिलाई ‘गुड मर्निङ म्याम’ भन्दै आफ्ना नातेदारको नाममा रकम जम्मा गरिदिन आग्रह गरेका थिए । त्यस क्रममा बैंक खाता नम्बरसमेत आदानप्रदान भएको विवरण सार्वजनिक भएको थियो ।

प्रहरीको प्रयोगशालाले सम्बन्धित विभागमा पठाएको विवरणको एक पृष्ठमा प्रधानन्यायाधीश डा. मनोज शर्मा, विश्वराज पोखरेल (ओखलढुंगा) र वंशी दाहाल (आईजी–एपीएफ) भन्ने उल्लेख रहेको समाचारमा जनाइएको थियो ।

त्यसैगरी, सापकोटाले सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालसँग संवाद गरेको विवरण पनि सार्वजनिक भएको थियो । सापकोटाले ‘यसलाई रोक्ने है त हजुर’ भन्दै रोहित गुप्तालाई थुनामै राख्न आग्रहसहित म्यासेज पठाएको विवरण बाहिरिएको थियो । विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालले आफूले सापकोटालाई होटल हिमालयमा भेटेको स्वीकार गरेका थिए ।

यस प्रकरणमा अर्की न्यायाधीश शारंगा सुवेदीको नामसमेत सामाजिक सञ्जालमा जोडिएको थियो । घटनापछि न्यायाधीशहरूको भूमिकामाथि विभिन्न प्रश्न उठेका थिए ।

न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरे पनि बहुसंख्यक कानुन व्यवसायीले समितिमा बस्न अस्वीकार गरेका थिए ।

प्रकरण सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल इजलासमा सहभागी भएका थिएनन् भने न्यायाधीश सुवेदी एक दिन इजलासबाट अलग भएकी थिइन् ।

करिब एक साता लामो तिहार तथा छठ पर्वको बिदापछि अदालत खुलेसँगै शर्मा र फुयाल पुनः इजलासमा फर्किएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस