
१ मंसिर पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले ८ वर्ष कैद सजाय सुनाएको छ ।
अदालतले नेपालीलाई १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला पनि गरेको छ । सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा अदालतले कात्तिक १७ गते नेपालीसहित ७ जनालाई कैद, जरिबाना र बिगो असुल गर्ने फैसला गरेको हो ।
न्यायाधीश चन्द्रप्रकाशको इजलासले गरेको फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन ।
२०८२ कात्तिक २५ गते कास्की जिल्ला अदालतमा दर्ता भएको पूरक अभियोगपत्रका आधारमा फैसला भएको हो । बागलुङको इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पोखरामा पनि सहकारी ठगीको अभियोग दर्ता भएको थियो ।
सुरुमा ५२४ जनाको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै २०८० भदौ १२ गते अभियोगपत्र दायर गरिएको थियो । त्यसमध्ये पाँच किस्तामा ४०० जनासँग मिलापत्र भएको थियो । बाँकी ११० जनाको जाहेरीका आधारमा करिब १८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरिएको थियो ।
कास्की जिल्ला अदालतका अधिकृत तारानाथ पोखरेलका अनुसार सोही अभियोगपत्रका आधारमा मुद्दाको फैसला भएको हो ।
अन्य ६ जनालाई पनि कैद सजाय
अदालतले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद सजाय सुनाएको छ ।
त्यस्तै, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
अदालतका अधिकृत पोखरेलका अनुसार ७ जना प्रतिवादीबाट १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबी रहेको थियो । उनीहरूलाई कैद र जरिबानासमेत तोकिएको छ ।
इमेज सहकारी ठगी प्रकरणमा अझै ८ जना फरार छन् । उनीहरूको हकमा फैसलाको पूर्णपाठ आएपछि मात्रै थप विवरण स्पष्ट हुने अदालतले जनाएको छ ।
सहकारीको सम्पत्ति, ऋणीबाट असुल गर्नुपर्ने रकम र बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियाबारे पनि फैसलाको पूर्णपाठबाट विस्तृत जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
लामो समयपछि मुद्दाको फैसला
पोखराको सिर्जनाचोकमा मुख्य कार्यालय रहेको इमेज सहकारीको रकम हिनामिना प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको थियो ।
सहकारीका सञ्चालकलाई कारागार पठाए पनि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको भन्दै निरन्तर गुनासो गर्दै आएका थिए ।
सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले पोखराको इमेज सहकारीको मुद्दा फैसला भएसँगै अब पीडितको रकम फिर्ता हुने प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको बताए ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझे प्रतिवादीले पूर्णपाठ प्राप्त भएपछि माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।
दोस्रो कार्यकालका लागि बागलुङको ढोरपाटन नगरपालिकाको मेयर निर्वाचित भएका देवकुमार नेपालीले सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा खर्च गरेको आरोप लागेको थियो ।
नेपालीले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका विभिन्न ३३ स्थानमा जग्गा खरिद गरेको भेटिएको थियो । बागलुङ र पोखरामा रहेका सहकारीका भवन तथा घरजग्गा बैंकले लिलामीसमेत गरिसकेको छ । नेपालीविरुद्ध बागलुङमा सम्पत्ति शुद्धीकरणको मुद्दासमेत विचाराधीन छ ।
परिवारसहित फरार भएका नेपाली भारतबाट पक्राउ
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली, उनकी श्रीमती छेला नेपाली, छोरा सन्तोष नेपालीसहित सञ्चालक, लेखा समिति र व्यवस्थापनमा संलग्न व्यक्तिहरूमाथि बचत रकम हिनामिना गरेको आरोप लागेको थियो ।
सहकारीको बचत तथा सेयर रकम दुरुपयोग गर्ने, ऋण असुली नहुने गरी आफूखुसी कर्जा प्रवाह गर्ने तथा नातेदार र अन्य व्यक्तिलाई ऋण दिने गरेको अभियोग उनीहरूमाथि थियो ।
नेपाली २०८० वैशाख ७ गते सहकारी कार्यालय बन्द गरेर सम्पर्कविहीन भएका थिए । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।
२०८० माघमा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएका नेपालीलाई २०८१ असोज ११ गते भारतको नयाँदिल्लीबाट पक्राउ गरिएको थियो ।
त्यसपछि नेपाल ल्याइएका उनलाई असोज १५ गते जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । बागलुङ र पोखरामा छुट्टाछुट्टै सहकारी ठगी मुद्दा चलेपछि उनलाई २०८२ जेठ १२ गते कास्की जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
बागलुङमा एक अर्ब पाँच करोडको मिलापत्र
पोखरासँगै बागलुङमा पनि इमेज सहकारीका नाममा ठूलो रकम हिनामिना भएको थियो ।
बागलुङ बजारको मुख्य कार्यालय तथा बुर्तिबाङ र गलकोट सेवा केन्द्रमार्फत बचतकर्ताको रकम संकलन गरिएको थियो ।
देवकुमार नेपालीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला अदालत बागलुङमा सहकारी ठगी मुद्दा दायर भएको थियो । त्यहाँ १ अर्ब ५४ करोड रुपैयाँ ठगी भएको बताइएको थियो ।
१ हजार ५४३ जनाको जाहेरीका आधारमा १ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
सरकारी वकिलको कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता भीमप्रसाद भूर्तेलका अनुसार बागलुङमा हालसम्म करिब १ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको मिलापत्र भइसकेको छ ।
पछिल्लो समय थप ७ करोड ३४ लाख रुपैयाँ मिलापत्र भएको र अब करिब २५ करोड ३० लाख रुपैयाँ बराबरको रकम बाँकी रहेको बताइएको छ ।
बागलुङमा भने सहकारी ठगी मुद्दाको फैसला हुन बाँकी छ । देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत विचाराधीन रहेकाले फैसला हुन समय लागेको अदालतको भनाइ छ ।
सहकारी सञ्चालकलाई कैद सजाय सुनिए पनि बचतकर्ताले आफ्नो रकम कहिले र कसरी फिर्ता पाउँछन् भन्ने मुख्य चासोको विषय बनेको छ ।
इमेज सहकारीका बचतकर्ता हरि कार्कीले अदालतले तोकेको बिगो र जरिबाना असुली तथा सहकारीको सम्पत्ति व्यवस्थापनबाट पीडितले वास्तविक रूपमा कति रकम प्राप्त गर्छन् भन्ने कुरा महत्त्वपूर्ण रहेको बताएका छन् ।