
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिइएको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह ६ मंसिर आइतबार दिउँसो १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुनेछ । उक्त टोली आफ्नै खर्चमा भारत जान लागेको हो । निजी खर्चमै केही सञ्चारकर्मीसमेत भ्रमण टोलीमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा ७ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्य तथा विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ । भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत रहेको छ ।
दुई दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।