
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आगामी सोमबार भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिँदै सचिव राईले भेटवार्ताबारे बताएका हुन् ।
प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् । सरकारी भ्रमण टोली ३४ सदस्यीय रहने सचिव राईले जानकारी दिएका छन् ।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमा भारत जानेछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।