
४ मंसिर, काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।
बैठकले प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमण स्वीकृत गर्नुका साथै चीनबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले आगामी मंसिर ६ र ७ गते प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । साथै, भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटी (RCF) अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गरिएको छ ।
सरकारले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्नुका साथै ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ ।
१. प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने तथा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
२. भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धारका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने ।
३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
४. नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने ।
५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
६. ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
७. राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।