
४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा पुगेका थिए । तर, उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए ।
छलफलका क्रममा नेकपा संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् ।
प्रचण्डको सचिवालयका अनुसार उनले आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको भन्दै यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताएका छन् ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने प्रदेशसभाको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ वैशाख ३० गते सकिँदैछ ।
गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने व्यवस्था छ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी रहेकाले निर्वाचन आयोगले दलका शीर्ष नेताहरूसँग निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको हो ।