
४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दिएको समयसीमा सकिन लाग्दा दलहरूबीच सहमति जुट्न सकेको छैन ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेस हुने सम्भावना कम देखिएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिए पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर सरकार गठन गर्न अनिच्छा देखाएका छन् ।
यादव मधेशमा एमालेबाहेकको सत्ता समीकरण बनाउन चाहन्छन् । विगतमा लुम्बिनी प्रदेशमा एमालेबाट धोका पाएको अनुभवका कारण उनी एमालेसँग मिलेर सरकार बनाउने पक्षमा नरहेको बताइएको छ ।
यादवले अग्रगामी मोर्चासँग मिलेर मधेशमा सरकार गठन गर्ने प्रयास गरिरहेका छन् । जसपा नेपालको नेतृत्वमा अग्रगामी मोर्चासहित जनमत पार्टी र नेपाली कांग्रेसको समर्थन जुटाएर सरकार बनाउने उनको गृहकार्य रहेको नेताहरू बताउँछन् ।
यद्यपि, नेपाली कांग्रेसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले केही दिनअघि नै जनमत सरकारमा सहभागी नहुने घोषणा गरेका थिए । तर, अग्रगामी मोर्चाको नेतृत्वमा सरकार गठन भए जनमतले त्यसलाई समर्थन गर्न सक्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
कांग्रेस र जनमत पार्टी संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन हुने सरकारमा सहभागी हुने सम्भावना कम देखिएको छ । तर, उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा जसपा नेपालको नेतृत्वमा सरकार गठन भए कांग्रेस र जनमत दुवैले विश्वासको मत दिन सक्ने सम्भावना रहेको जसपा नेपाल स्रोतले जनाएको छ ।
प्रदेश प्रमुखले दिएको समयसीमा सकिन लाग्दा मधेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसकेपछि राजनीतिक अन्योल थपिएको छ ।