
काठमाडौं । विपद्का बेला नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले सरकारले आज काठमाडौंका केही क्षेत्रमा मोबाइलमा ‘सेल ब्रोडकास्ट प्रणाली’को परीक्षण गर्ने भएको छ।
गृह मन्त्रालयका अनुसार आज बेलुकी ५:३० बजेदेखि नेपाल टेलिकमको २जी नेटवर्कमार्फत उक्त प्रणालीको परीक्षण गरिनेछ। परीक्षणका क्रममा केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित नेपाली र अंग्रेजी भाषामा सन्देश प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार एउटै सन्देश एकभन्दा बढी पटक पनि मोबाइलमा आउन सक्छ। मोबाइलमा ‘हाई अलर्ट’को आवाज बज्दैमा नआत्तिन र कुनै प्रतिक्रिया जनाउन आवश्यक नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
यो वास्तविक विपद्को सूचना नभई प्राविधिक परीक्षण मात्र भएकाले सर्वसाधारणलाई भ्रममा नपर्नसमेत आग्रह गरिएको छ।
यस प्रणालीको प्रयोगबाट भविष्यमा बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा नागरिकलाई तत्काल पूर्वसूचना तथा आवश्यक सुरक्षा निर्देशन पठाउन सकिने विश्वास गरिएको छ।