
रसुवा । रसुवामा आएको बाढीका कारण करिब डेढ लाख नागरिक प्रभावित भएका छन्। बाढीपछि विभिन्न स्थानमा विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ।
यसैबीच, बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरमा रहेका २५ जनामा झाडापखालाको समस्या देखिएको छ। उनीहरूमा झाडापखाला देखिएपछि स्वास्थ्यकर्मीले उपचार तथा निगरानी गरिरहेका छन्।
बाढीका कारण खानेपानी तथा सरसफाइमा समस्या उत्पन्न हुँदा पानीजन्य रोगको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी बिरामीको अवस्था निगरानी गर्ने तथा आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको जनाइएको छ।
सम्बन्धित निकायले बाढी प्रभावित क्षेत्रमा सफा तथा सुरक्षित पानी प्रयोग गर्न, खाना राम्रोसँग पकाएर खान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर आवश्यक व्यवस्थापन भइरहेको छ।