१६ वैशाख काठमाडौँ / आवासीय चिकित्सकहरूले मङ्गलवार २७ औँ दिनमा पनि प्रदर्शन जारी राखेका छन् । गत चैत्र २१ गतेदेखि सडक आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभए सम्म आन्दोलन फिर्ता नलिने अडानमा छन् । सरकारी सरह निर्वाह भत्ता दिन नसक्ने अडान लिएका निजी मेडिकल कलेज सञ्चालहरुले सरकारले स्नातक तहमा सिट र शुल्क बढाउन सकिने जनाएपछि निर्वाह भत्ता बढाउन तयार भएका थिए ।
चिकित्सा शिक्षा आयोगको चैत्र १५ बसेको १९ औँ बैठकले एमबीबीएसको सिट सङ्ख्या र शुल्क बढाउन सकिने निर्णय गरेको छ । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि उनीहरूले माग राखेका छन् ।