२१ वैशाख काठमाडौँ / मकवानपुरको हेटौंडामा सडक भासिएर बेपत्ता भएको गाडी अझै भेटिएको छैन ।
शुक्रबार दिउँसो १ बजे हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित भित्री सडक भासिँदा त्यहाँ रोकेर राखिएको ना ४ ख ४८३३ नम्बरको गाडी नै बेपत्ता भएको थियो ।
सडक भासिएपछि त्यहाँ पानी जमेर पोखरीको रूप लिएको थियो । सडक भासिएर गाडी खस्न थालेपछि चालक हरि राई बाहिर निस्किएका थिए ।
भासिएर खसेको गाडी केही बेरमै बेपत्ता भएको थियो । घटनाको जानकारीपछि प्रहरी घटनास्थल पुग्दा भासिएको जमिन दलदलमा परिणत भइसकेको थियो भने गाडीको नामनिशाना देखिएको थिएन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ विभिन्न उपाय लगाएर गाडी खोज्ने प्रयत्न गरिए पनि भेट्टाउन नसकिएको उनले बताए ।
भासिएको ठाउँमा पोखरीको स्वरूप बनेपछि दिनभरि मोटर लगाएर त्यहाँ जम्मा भएको पानी बाहिर निकालिएको थियो । तैपनि गाडी भेट्टाउन नसकिएको डिएसपी अर्यालले बताए ।
उनका अनुसार त्यस ठाउँमा बोरिङ खनिएको थियो । चालक र गाडी धनीसमेत रहेका हरि राईले त्यहाँ पोखरी बनाएर माछापालन समेत गरेका थिए ।
भासिएको सडकखण्ड नियमित सवारी साधन हिँड्ने बाटो नभएको पनि उनले बताए ।