८ असार काठमाडौँ / कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको हत्या आरोपमा देवर पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी थिइन । तुलसीले १६ दिन पहिले मात्रै छोरालाई जन्म दिएकी थिइन् ।
तुलसीको हत्याको आरोपमा देवर २० वर्षीय नवीन नाथ पक्राउ परेका छन ्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दका अनुसार प्रहरी हिरासतमा रहेका नवीनले प्रहरी समक्ष भाउजूको हत्या गरेको बयान दिइसकेका छन् ।
घटनाको दिन जेठ २० गते नै नवीनका बुवा–आमा पुर्ख्यौली घर अछाम गएका थिए । घरमा सुत्केरी तुलसा, नवीनका दम्पत्ती र कक्षा ९ मा पढ्ने नवीनकी बहिनी थिए ।
प्रहरीका अनुसार जस्ता पाताले छाएको दुई कोठाको घरमा नवीन, उनकी श्रीमती र बहिनी एउटै कोठामा सुतेका थिए । श्रीमती र बहिनी निदाएको थाहा पाएपछि नवीन सुटुक्क भाउजूको कोठामा प्रवेश गरी उनको हत्या गरेको बयान दिएका छन् ।
हत्यापछि नवीनले तुलसाको कानमा रहेका आठ वटा सुनका रिङ निकालेका थिए । चक्कुको सहायताले दुइटा कानका आठवटा मुन्द्रा निकालेको उनले प्रहरीसमक्ष बताएका छन् । त्यो सँगै उनले गलामा लगाएको पोते पनि झिकेको प्रहरीले बताएको छ ।
सुनका गरगहना लुटिसकेपछि नवीन शव व्यवस्थापनमा लागेका थिए । उनले भाउजूको शव घरदेखि झन्डै ८ सय मिटर टाढा पुर्याएर फालेको डिएसपी चन्दले बताए ।