१७ असार काठमाडौँ / नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले लाओसविरुद्ध चार गोल गरेपछि राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ६१ पुर्याएकी छन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित दर्ता गरेको थियो । एकपक्षीय खेलमा नेपालको जितमा साम्बाले ह्याट्रिकसहित चार गोल गरिन् । अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीको नाममा समान एक गोल रह्यो । एक गोल आत्माघाती उपहार पाएको थियो ।
नेपालको एक सयौँ अन्तराष्ट्रिय खेलमा साम्बाले कप्तानी सम्हालेकी थिइन् । लाओसविरुद्ध नेपालले सानदार जित दर्ता गर्दा साम्बाले कप्तानी गोल गरिन् । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले साम्बालाई कप्तानको आर्म ब्यान्ड दिएका थिए । यो सँगै साम्बा नेपालको ११ औँ कप्तान बनिन् ।