२८ असार काठमाडाैँ / नेकपा एमाले जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलंगामा पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न गरेको छ । पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीतिलाई केन्द्रमा राख्दै पार्टीले आफ्नो भेला राखेको हो । भेलामा २३ वटा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले जाजरकोटका उपाध्यक्ष तथा जनवर्गीय विभाग प्रमुख विश्व विक्रम शाहका अनुसार, भेलाले जिल्लामा हुनसक्ने प्राकृतिक विपत्तिको समयमा पार्टी र त्यसका जनसंगठनहरूलाई कसरी प्रभावकारी ढंगले परिचालन गर्ने भन्ने विषयमा कार्ययोजना बनाएको छ ।
शाहका अनुसार, नेपाल उद्योग तथा व्यवसायी महासंघलाई जिल्लामा औद्योगिक क्षेत्रको विकास, लगानी प्रवद्र्धन तथा उत्पादकत्व वृद्धिमा नेतृत्वदायी जिम्मेवारी दिने निर्णय गरिएको छ । त्यस्तै, विपद् व्यवस्थापनका लागि ‘उद्धार टिम’ निर्माण गरिने, विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउने संयन्त्र बनाउन जनसंगठनहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ । साथै हरेक संगठनलाई रचनात्मक कार्यक्रममार्फत जनताको बीचमा पुग्ने योजना तयार पारिएको नेकपा एमाले भेरी नगर कमिटीका अध्यक्ष मुकुन्द शर्माले बताए ।
भेलामा सहभागी भई नेकपा एमाले भेरी नगर कमिटीका अध्यक्ष शर्माले जनसंगठनहरूको भूमिकालाई अझ सशक्त बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्। शर्माले भने, “हाम्रा जनसंगठनहरू विगतमा जनस्तरमा गहिरो प्रभाव पार्ने हैसियतमा थिए, तर पछिल्लो समय ती संगठनहरूमा सहभागीता घट्दो क्रममा छ, जुन चिन्ताको विषय हो । संगठनहरूले स्थानीय तहसम्म पुगेर जनताको वास्तविक समस्या सुन्ने, पार्टीका विचार र नीति जनस्तरमा पुर्याउने, र स्थानीय स्तरमै नेतृत्व उत्पादन गर्ने खालका काम गर्नुपर्छ । हामी जिल्लाका सातवटै स्थानीय तहमा जनसंगठनहरूको संरचना विस्तार गर्ने तयारीमा छौँ ।” अध्यक्ष शर्माका अनुसार, संगठन सशक्त नभएसम्म पार्टीको अभियान धरातलमा सशक्त हुँदैन भन्ने बुझाइका साथ अब सबै तहमा सक्रिय अभियान सञ्चालन गरिनेछ ।
नेकपा एमाले जाजरकोटले जनसंगठनहरूलाई केवल नामका लागि राख्ने हैन, कार्यदिशा दिन सक्ने, जनताको मनमा छिर्ने र विपद्, उद्धार, राहत र विकासका सवालमा पार्टीको सक्रिय उपस्थिति कायम गर्ने माध्यम बनाउने तयारी गरिरहेको छ । पार्टीले यस किसिमको भेला निरन्तर रुपमा सञ्चालन गर्दै संगठनलाई पुनः गतिशील बनाउने योजना अघि सारेको पार्टी सचिव गोपाल नेपालीले बताए ।