२०८२ श्रावण ३, शुक्रबार

भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा

भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा

२ साउन, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो एक बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ ।
असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

‘हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं,’ श्रेष्ठले भने, ‘राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ ।’

राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको छ ।

राप्रपाका प्रवक्ता श्रेष्ठका अनुुसार राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता विना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस