३ साउन काठमाडौं / ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ ।
इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ, कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा मारेपछि आएको हो ।
यो कारबाही सर्वोच्च अदालतको निर्देशनमा गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, सामाजिक सञ्जाल प्रयोग गर्न र अनुसन्धानको दायरामा रहेका केही अन्य व्यक्तिहरूसँग सम्पर्क गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
यी व्यक्तिहरूमा उनको छोरा एडुआर्डो बोल्सोनारो पनि समावेश छन् । एडुआर्डो हाल अमेरिकामा बसिरहेका छन् र उनको ट्रम्पसँगनजिकको सम्बन्ध रहेको समाचार संस्था एपीले जनाएको छ । प्रहरीको विज्ञप्तिमा ब्रासिलियामा दुई ठाउँमा खानतलासी गरिएको र केही सामानहरू जफत गरिएको जानकारी दिएको उल्लेख छ ।
प्रहरीले गिरफ्तारीबाहेक अन्य धेरै कदमहरू चाले पनि विज्ञप्तिमा कसैको नाम उल्लेख गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले ब्रासिलियामा बोल्सोनारोको निवासबाहिर प्रहरीका सवारीसाधनहरू देखाइएको छ ।
बोल्सोनारोमाथि सन् २०२२ को निर्वाचनको नतिजा उल्टाउने (सरकार ढाल्ने) षड्यन्त्र रचेको आरोप छ । यस विषयमा अहिले उनीमाथि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । सन् २०२२ को निर्वाचनमा बोल्सोनारो हारेका थिए । उनको ठाउँमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएर राष्ट्रपति बनेका थिए । बोल्सोनारोमाथि निर्वाचन हारेपछि प्रजातन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोप छ ।